भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले आफ्नो ५० औं टेस्टमा दुईवटा इतिहास बनाएका छन्। उनले श्रीलंकाविरुद्ध विहिबारदेखि सुरु भएको दोस्रो टेस्टको पहिलो दिन सतक मात्र बनाएनन्, टेस्ट क्रिकेटमा ४ हजार रन पनि पुरा गरे।
यसअघि पुजाराले टेस्टमा ३ हार ९ सय ६६ रन थियो। तर, टेस्टको ८४ औं इनिङमा उनले ४ हजार रनको उपलब्धि हात पारे। यसअघि भारतका पूर्व टेस्ट कप्तान राहुल द्रविडले पनि ८४ इनिङमा ४ हजार रन पुरा गरेका थिए।
भारतीय क्रिकेटमा छिटो ४ हजार रन बनाउने कीर्तिमान यी दुई ब्याट्सम्यानभन्दा अगाडि वीरेन्द्र सहवाग र सुनिल गावस्करको नाममा छ। सहवागले ७९ र गावस्करले ८१ इनिङमा ४ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका थिए।
भारतले पुजारा र अजिङ्क रहाणेको सतकको सहयोगले पहिलो दिन ३ विकेटको क्षतिमा ३ सय ४४ रन बनाएको छ। पुजाराले १ सय २८ र रहाणे १ सय ३ रन बनाएर अविजित छन्। विमारीका कारण पहिलो टेस्टमा अनुपस्थित रहेका केएल राहुलले पनि ५७ रन बनाए। कप्तान विराट कोहली १३ रनमा आउट भए। शिखर धवन ३५ रनमा आउट भए।