आ–आफ्नो टिमलाई निराश पार्दै गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। दुवै फाइनल प्रतिस्पर्धात्मक रह्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले पराजित गर्यो। विजयी टिमका लागि अशिम श्रेष्ठ र राजिव जोशीले ७–७, विक्रम डंगोलले ५ तथा अनिश शाहीले २ अंक जोडे। विजेताले ४० हजार नगद पुरस्कार पायो भने उपविजेताले २० हजार नगदमा चित्त बुझायो।
नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको महिला उपाधि भिडन्तमा प्राइम ‘डि’ ले प्राइम ‘ए’ लाई १३–११ ले हरायो। जितमा लुनिभा सिंहले १०, सिर्जना गिरीले २ र येति क्षेत्रीले १ अंक योगदान गरे। प्राइम ‘डि’ ले ३० हजार तथा प्राइम ‘ए’ ले १५ हजार नगद पुरस्कार हात पारे।
पुरुषमा राजिव जोशी र महिलामा लुनिभा सिंह ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। उपाधि विजेता टोलीका दुवैलाई समान ७–७ हजार नगदबाट पुरस्कृत गरियो।
लिग कम नकआउट आधारमा भएको प्रतियोगिताको अन्तिम दिन आइतबार सबै चरणका नकआउट खेल भएका थिए। पहिलो दिन शनिबार समूह चरणको खेल खेलाइएको थियो।