मध्यपश्चिमाञ्चलमा हुने आठौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष एवं ओलम्पियन सुरेन्द्रबहादुर हमालको संयोजकत्वमा आठौं राष्ट्रिय खेलकुद– २०७५ सचिवालय गठन गरिएको छ ।
आठौं राष्ट्रिय खेलकुद आयोजना तयारी अनुगमन, निरिक्षणलगायतका कार्यहरु गर्न अत्यवाश्यक भएकोले हमालको संयोजकत्वमा ६ सदस्यीय सचिवालय गठन गरिएको हो ।सचिवालयका सदस्यमा राखेपकी सदस्य शान्ति सिंह, राखेपका सदस्य विनोद मैनाली, राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल र मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली रहेका छन् ।
सचिवालयको सचिवको जिम्मेवारी राखेपका प्रशासकीय अधिकृत ईन्द्रबहादुर कार्कीलाई दिइएको छ ।गत जेठ २० गते बसेको राखेपको १०८ औं बोर्ड बैठकले आठौं राष्ट्रिय खेलकुद हालकै संरचना कायम रहेको अवस्थामा मध्यपश्चिमाञ्चलमा गर्ने निर्णयलाई अनुमोदन गरेको थियो ।
त्यसअघि गत पुस १५ गते पूर्वाञ्चलको धरानमा भएको सातौं राष्ट्रिय खेलकुदको समापनका अवसरमा २०७५ सालमा गर्ने गरी आठौं राष्ट्रिय खेलकुदको झण्डा मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिलाई हस्तान्तरण गरिएको थियो । त्यत्ति बेला मन्त्रीस्तरीय निर्णय भएकोमा १०८ औं बोर्ड बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको थियो ।
नयाँ संरचना कार्यान्वयन भएमा सोही वर्षको मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रदेश नं. ५ को बाँके र दाङमा गर्ने निर्णय समेत गरेको थियो ।