नेपाल आर्मी ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ। आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य जित्दै टिम च्याम्पियनको उपाधि उचालेको हो।
नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपीएफ क्लब ९ स्वर्ण, ६ रजत ८ कांस्यसाथ दोश्रो भयो। तेश्रो स्थानको बाग्मती प्रदेशले ३ स्वर्ण, २ रजत र ६ कांस्य हात पार्यो। ३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी २ स्वर्ण नेपाल प्रहरी क्लबले जित्यो। प्रहरीले ३ रजत र ४ कांस्य पनि हासिल गर्यो। सात प्रदेश र तीन विभागीय गरी १० टिम सहभागी प्रतियोगितामा ६ टिम स्वर्णविहीन रहे।
प्रतियोगिताको पुरुषमा एपीएफका शिवराज पार्की तथा महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए। शिवराजले ३ स्वर्ण र १ रजत जिते। जयरानीले २ कीर्तिमानीसहित ४ स्वर्ण कब्जा गरिन्। जयरानीको नाममा थप १ रजत पनि रह्यो। जयरानीले १ सय र ४ सय मिटर हर्डल्समा कीर्तिमान रचेकी थिइन्।
प्रतियोगितामा कुल ३ राष्ट्रिय कीर्तिमान बने। थप १ कीर्तिमान आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा बनाएका थिए। जीवनले १ कीर्तिमानीसहित २ स्वर्ण र उत्तिनै रजत हात पारे। प्रत्येक राष्ट्रिय कीर्तिमानका लागि ५ हजार नगद पुरस्कार प्रदान गरियो।
विजेतालाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा २ सय ४० खेलाडीको सहभागिता रहेको आयोजक संघका सचिव आरके विष्टले जनाएका छन्।