छिमेकी भारतको राजधानी दिल्लीबाट नेपालको राजधानी काठमाडौंसम्मको साइकल यात्रामा निस्किएका भारतीय साइकल यात्रीको समूह दाङ आइपुगेको छ।
दुई देश बीचका राजधानीको यात्रा साइकलमार्फत् गर्ने उद्देश्य क्यापिटल सिटी टु क्यापिटल सिटी (सिटुसी) अभियानमा सात जना साइकल यात्री छन्। उनीहरू बिहीबार बिहानै दाङको लमहीदेखि अगाडि बढेका छन्।
२० फेब्रुअरीमा दिल्लीस्थित इन्डिया गेटबाट साइकल यात्रा सुरू गरेका उनीहरूले २५ फेब्रुअरीमा नेपालको राजधानी काठमाडौंमा पुगेर यात्रा समापन गर्ने लक्ष्य राखेका छन्। यात्रामा सहभागी कनवर गिलले आफूहरुको यो राइडको मुख्य उद्देश्य भारत-नेपाल मित्रतालाई बढाउनु र निरोगी जीवन शैली अपनाउन मानिसहरूलाई प्रेरित गर्नु रहेको सेतोपाटीलाई बताए।
चार दिनको अवधिमा आफूहरूले झन्डै ६ सय किलोमिटर यात्रा गरेको र काठमाडौंसम्मको थप करिब ५ सय किलोमिटर यात्रा अब तीन दिनमा पूरा गर्ने उनले बताए।
नेपालमा आउँदा विभिन्न ठाउँमा स्वागत, सत्कार र माया पाएको भन्दै उनले खुसी व्यक्त गरे।
‘नेपाल आउँदा हामी जहाँ पुग्यौं, त्यहाँ न्यानो माया पायौं,’ उनले भने, ‘यो मायाले हामी पुलिकत भएका छौं र आउने वर्षमा पनि यस्तै यात्रा गर्न प्रयास गर्नेछौं।’
यात्रामा सहभागी पञ्जाबकी विनिता शर्माले सुरूमा आफू रमाउनका लागि साइकल यात्रा सुरू गरेको भए पनि सिनियर पुरुष साइकल राइडरसँगको संगतले आज लामो यात्रा तय गर्न सफल भएको बताइन।
‘मैले आफूलाई परीक्षण गर्न पाएकी छु,’ उनले भनिन्, ‘साइकलिङ हरेक दृष्टिकोणले राम्रो छ।’
उनले साइकल राइडमा जाँदा महिला र पुरुषका बीचमा कुनै प्रकारको विभेद तथा असमानता आफूले हालसम्म अनुभूति नगरेको बताइन्। महिला र पुरूष राइडरहरूले समान रूपमा राइड गर्ने हुँदा त्यहाँ कुनै प्रकारको विभेद वा असमानता नहुने उनले तर्क गरिन्।
‘राइडले हामीलाई स्वतन्त्रता प्रदान गर्छ र आत्मविश्वास बढाउँछ,’ उनले भनिन्, ‘राइडका क्रममा सबै प्रकारका चुनौतीहरूको सामना गर्न सिकाउँछ।’
दिल्लीदेखि काठमाडौंसम्मको यात्राका क्रममा आफूले धेरै कुरा जान्न पाएको र यात्रा निकै चुनौतीपूर्ण र कौतुहलतापूर्ण रहेको उनले बताइन।
अर्का डाक्टर मुस्तफा पेसाले स्पोर्ट मेडिसनका फिजियोथेरापिष्ट हुन्। उनले साइकलिङबाट धेरै शारिरीक अभ्यास हुने बताए। साइकलिङ गर्दा श्वासप्रश्वास राम्रो हुने, साइकलिङबाट डाइबेटिज, ब्लड प्रेसरका बिरामीले लाभ लिन सक्ने उनले बताए।।
‘स्वास्थ्यका लागि साइकलिङका धेरै फाइदा छन्,’ उनले भने, ‘बच्चादेखि बुढा उमेरका मानिसहरू जसले पनि साइकिल चलाउनु राम्रो हो।’
यो यात्रामा कनवर गिलले, विनिता शर्मा, डाक्टर मुस्तफा, डाक्टर राहुल, मेघा जैन, आसिफ मल्वासी र रवीन्द्रकुमार सिंह रहेको यात्राका संयोजक जसप्रित सिंहले सेतोपाटीलाई बताए।
उनीहरूलाई दाङ तुलसीपुरका साइकलिस्ट खुमबहादुर न्यौपाने, रश्मी अधिकारी, रञ्जन कोइराला लगायतको समूहले दाङको अमेलियामा पुगेर स्वागत गर्दै अगाडिको थप यात्राका लागि शुभकामना दिएका थिए।