सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि जितेका छन्।
सोमबार विहान न्युयोर्कमा सम्पन्न युएस ओपनको पुरुष एकलको फाइनलमा ड्यानिल मेदवेदेवलाई पराजित गर्दै जोकोभिचले कीर्तिमानी उपाधि जित्न सफल भएका हुन्।
३६ वर्षीय जोकोभिचले ६-३, ७-६ (७-५) र ६-३ को सोझो सेटमा जित निकाल्दै उपाधि जित्न सफल भएका हुन्।
यससँगै उनले सर्वाधिक ग्रान्डस्लाम जित्ने मार्गरेट कोर्टको ५० वर्षको कीर्तिमान बराबरी गर्न सफल भए।
दोस्रो वरीयताका जोकोभिचले २७ वर्षीय रसियन खेलाडी ड्यानिललाई हराएसँगै चौथो युएस ओपन जितेका हुन्।
यसअघि विम्बल्डनको फाइनलमा स्पेनिस खेलाडी कार्लोस अल्कारेजसँग पराजित हुँदा जोकोभिचले कीर्तिमान बराबरी गर्न पाएका थिएनन्।
जोकोभिचले यसअघि अष्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेर पुरुष एकलतर्फ २२ उपाधि जित्ने राफेल नाडालको कीर्तिमानलाई पछि पारेका थिए।
जोकोभिचको युएस ओपनको उपाधिसँगै एक टेनिसका महान खेलाडी मध्येकी एक मार्गरेट कोर्टको २४ एकल उपाधि जित्ने विश्व कीर्तिमान बराबरी भएको हो। अष्ट्रेलियाकी महिला खेलाडी मार्गरेटको यो कीर्तिमान ५० वर्षपछि बराबरी भएको हो। थप एक उपाधि जिते जोकोभिचले भंग गर्दै इतिहासमा आफ्नो नाम लेखाउनेछन्।
जोकोभिन २३ ग्राण्डस्लाम उपाधिमा अष्ट्रेलियन ओपन १०, विम्बल्डनमा सात, युएस ओपन चार र तीन फ्रेन्च ओपन समावेश छन्। उनी कम्तिमा तीन पटक सबै चार प्रमुख जित्ने पहिलो खेलाडी समेत हुन्।