हाङ्झाउ एसियाली खेलको उद्घाटन समारोह आज हुँदैछ।
नेपाली समयअनुसार साँझ ५ बजेर ४५ मिनेटमा उद्घाटन समारोह सुरू हुँदैछ।
आयोजकका अनुसार उद्घाटन समारोह १ सय २० मिनेटसम्म चल्नेछ। समारोहमा विभिन्न देशका खेलाडीहरूले मार्च पास गर्नेछन्।
मार्च पासमा नेपालको झण्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्तिमगरले बोक्नेछिन्।
यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले पनि उद्घाटन समारोहमा भाग लिँदैछन्।
४५ देशका खेलाडीहरूको मार्च पासका लागि ४० मिनेटको समय तोकिएको छ, त्यसपछि कार्यक्रमको औपचारिक समारोह सुरू हुनेछ।
औपचारिक उद्घाटनपछि हुने सांस्कृतिक प्रस्तुति करिब ४५ मिनेटसम्म चल्ने छ। आयोजकले दुई घन्टाको कार्यक्रमको समापन गर्ने जनाएको छ।
एसियाली देशहरूको खेलकुदको कुम्भमेला एसियाली खेलकुदमा ४० खेलमा ४५ देशका खेलाडीले भाग लिँदैछन्। यसपटकको एसियाली खेलकुदमा १२ हजार बढी खेलाडी सहभागी हुनेछन्।
पेरिसमा हुने ओलम्पिक २०२४, टोकियोमा भएको ओलम्पिक २०२० मा पनि यति खेलाडीले प्रतिस्पर्धा गरेका थिएनन्। ओलम्पिक पछिको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता मानिने एसियाली खेलकुदमा नेपालले यसपटक २९ खेलमा प्रतिस्पर्धा गर्दैछ।
२९ खेलमा नेपालका २५३ खेलाडीले भाग लिँदैछन्। एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको नेपालले पछिल्ला तीन संस्करणमा एक-एक पदकमात्र जित्न सकेको छ।
नेपालले यसपटक व्यक्तिगत विधाका खेलमा पदकको आसा गरेको छ। जसमा तेक्वान्दो, उसु, कराते बक्सिङसहित नयाँ खेलहरू इस्पोर्ट्स, डान्स स्पोर्ट्स र क्यानोङमा पदकको आसा गरेको छ।
पछिल्ला तीन एसियाली खेलकुदमा नेपालले एक-एक पदक मात्र जित्न सकेको छ। सन् २०१० को ग्वानझाउ एसियाड र २०१४ को इन्चोन एसियालीमा नेपालले कास्य पदक मात्र जित्न सकेको थियो। यस्तै नेपालले सन् २०१४ को इन्डोनेसियाको जाकार्तमा भएको एसियाली खेलकुदमा प्याराग्लाइडिङबाट रजत जितेको थियो। यसपटक प्याराग्लाइडिङ समावेश छैन।