एसियाली खेलकुदमा नेपालको सबैभन्दा सफल खेल हो, तेक्वान्दो। नेपालले एसियली खेलकुदमा तेक्वान्दोबाट १ रजत र १३ कास्य गरी अहिलेसम्म १४ पदक भित्र्याएको छ।
तर पछिल्ला चार संस्करणमा भने नेपालले तेक्वान्दोबाट खराब प्रदर्शन गर्दै आएको छ। नेपालले सन् २००६ को एसियाली खेलकुदपछि तेक्वान्दोबाट पदक भित्र्याउन सफल भएको छैन। २०१० को ग्वानझाउ एसियाड, २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता एसियाडमा नेपाल तेक्वान्दोबाट पदकबिहीन बन्न परेको थियो।
चीनको पूर्वी शहर हाङझाउमा जारी १९औं संस्करणको एसियाली खेलकुदमा पनि नेपाल तेक्वान्दोबाट पदकविहीन बन्यो। बिहीबार हाङझाउको लिनान् स्पोर्ट्स कल्चर एन्ड एक्सिबिसन सेन्टरमा ८० केजीमाथि तौल समूहमा नेपालका ज्याकी यादव जोर्डनका खेलाडीसँग २-० ले पराजित भए।
तेक्वान्दोबाट ११ जना खेलाडी सहभागी भएकोमा व्यक्तिगत पुम्सेमा प्रेम लिम्बू, ४९ केजी तौल समूहमा अन्जली तामाङ र ६३ केजी तौल समूहमा गोविन्द आलेले एक एक खेल जिते। प्रेमले अन्तिम १६ को खेल जितेर क्वार्टरफाइनलमा स्थान बनाएका थिए। तर उनी अन्तिम आठबाट अघि बढ्न सकेनन्। अन्जली र गोविन्दले अन्तिम ३२ को फाइट जिते पनि अन्तिम १६ मा हार ब्यहोरे।
लगातार चार एसियाली खेलकुदमा पदकविहीन बनेपछि तेक्वान्दोका अफिसियल निराश बनेका छन्।
नेपालका प्रशिक्षक बनेर हाङझाउ आएका कुमार घिसिङले नेपालका ११ जना खेलाडी नै असफल भएपछि तयारी नपुगेको महसुस गरेका छन्।
‘यहि एसियाली खेलकुदका लागि अरू देशका खेलाडीले तीन-चार वर्षदेखि अभ्यास गरिरहेका छन्,’ लामाले तेक्वान्दो पदकविहीन भनेपछि हाङझाउमा सेतोपाटीसँग कुरा गर्दै भने, ‘तर हामीले तीन चार महिना मात्र तयारी गर्न पायौं। हुन त यी खेलाडी हाम्रा सबैभन्दा राम्रा हुन्। हामीले चार पटक छनोट गरेर उत्कृष्ट खेलाडीलाई एसियाली खेलकुदमा ल्याएका हौं।’
पहिलो खेल जितेपछिको प्रतिस्पर्धामा बलिया खेलाडीसँग पर्दा पनि नेपाललाई गाह्रो भएको उनले बताए। साथै हाइटका कारणले पनि नेपाललाई समस्या भएको उनले अनुभव गरे।
‘हाम्रा तीन खेलाडीले तीन खेल जिते। तर बलिया खेलाडीसँग पर्दा अघि बढ्न सकेनन्। हामीलाई पराजित गरेका खेलाडीले पछि स्वर्ण पदक जितेका छन्,’ घिसिङले भने।
नेपालमा हुने खेलकुदको राजनीति र खेलाडी पलायनले पनि तेक्वान्दोलाई पिरोलेको छ। जसको असर प्रत्यक्ष रुपमा नेपालको प्रदर्शनमा देखिन थालेको छ।
‘अहिले टिममा भएका दुई जना खेलाडी मात्र सिनियर छन्। सबै सिनियर खेलाडी अस्ट्रेलिया लगायतको देशमा पलायन भएका छन्। नयाँ खेलाडीमा अनुभव नपुग्दा राम्रो प्रदर्शन गर्न सकेनन्,’ उनले भने।
पछिल्लो समय नेपाल तेक्वान्दोमा संघमा महासचिव दिपराज गुरुङले एकलौटी रुपमा काम गर्दा अनुभवी प्रशिक्षकलाई पाखा लगाइएको छ। कतिपय खेलाडीलाई समेत नियतवश खेल्न नदिएको एसियाली खेलकुदअघि पत्रकार सम्मेलन नै गरेर खेलाडीले विरोध गरेका छन्।