जिल्लाको सर्वाधिक पुरस्कार राशीको तेस्रो खुमबहादुर खड्का स्मृति पुरूष भलिबल प्रतियोगिता आइतबारदेखि सुरू हुने भएको छ।
आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिबार घोराहीमा पत्रकार सम्मेलन गरी फागुनको २० गतेदेखि २५ गतेसम्म घोराहीमा सञ्चालन गर्न थालिएको भलिबल प्रतियोगिताको सबै तयारी पूरा भएको कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले जानकारी दिए।
घोराहीस्थित जिल्ला समन्वय समितिको मैदानमा प्रतियोगिताको उद्घाटन आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गर्ने तय भएको छ।
जिल्लामा भलिबल खेलको विकाससँगै खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि कांग्रेस दाङले आफ्ना स्वर्गीय नेता पूर्व गृहमन्त्री खुमबहादुर खड्काको स्मृतिमा विगतदेखि नै भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगितामा जिल्लाका दशमध्ये गढवा गाउँपालिकाबाहेक अन्य सबै पालिकाबाट टिम सहभागिता हुने आयोजक कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले बताए।
खेल लिगकम नकआउटका आधारमा खेलाइने छ। विजेता टिमले उपाधिसँगै नगद दुई लाख पच्चिस हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
त्यस्तै, द्वितीय हुने टिमले एक लाख २५ हजार, तृतीय टिमले ५० हजार र सान्त्वना हुने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।