यस वर्षदेखि जुन ११ मा अन्तर्राष्ट्रिय खेल दिवस मनाइने भएको छ।
बालबालिकाको विकास र निरोगितामा खेलको महत्त्वलाई थप जोड दिन यस वर्ष पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाउन लागिएको संयुक्त राष्ट्र बालकोष (युनिसेफ)ले जनाएको छ।
खेल रमाइलोका लागि मात्रै नभएर बालबालिकाको विकासका लागि आवश्यक कुरा भएकाले खेलमय अभिभावकत्व विकास गर्न दिवसकै रूपमा मनाउन लागिएको प्रारम्भिक बाल विकास विशेषज्ञ दिपु शाक्यले बताए।
'खेलले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, तथा वौद्धिक विकासमा सहयोग पुर्याउँछ। खेलका माध्यमबाट बालबालिकाले अरूसँग सम्बन्धहरू बनाउन, नेतृत्व, सीप र प्रतिरोधी क्षमता विकास गर्न सहयोग पुर्याउँछ,' उनले भने।
खेलसँगै पढाइमा लगाउँदा थप सहज हुने पनि उनले बताए।
'खेलले सिकाइलाई थप रमाइलो र व्यवहारिक बनाउन सघाउँछ। खेल्दै पढेका र सिकेका कुराहरू सम्झन पनि सजिलो हुन्छ,' उनले भने।
बालबालिकाको खेलमा अभिभावकको उपस्थितिले निकै महत्त्व राख्ने पनि उनले बताए। तर नेपालमा बालबालिकासँगै खेल्ने अभिभावक निकै न्यून रहेको विभिन्न अध्ययनले देखाएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयको एक प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको खेलमा बुबाको सहभागिता ज्यादै न्यून देखिएको छ।
उक्त प्रतिवेदन अनुसार १७.६ प्रतिशत बुबाहरू मात्रै आफ्ना छोराछोरीसँग खेल्ने गरेको देखाएको छ। ४२ प्रतिशत आमाहरू छोराछोरीसँग खेल्ने गरेको अध्ययनले देखाएको छ।
पछिल्लो समय छोराछोरी भुलाउने बहानामा अभिभावकहरूले मोबाइल, ट्याबलेट लगायत विद्युतीय उपकरण प्रयोग गर्न दिने गरेको र यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक, तथा विकासमा गम्भीर असर पुर्याउने अवस्था देखिएको विशेषज्ञ शाक्यले बताए।
मोबाइल लगायत विद्युतीय उपकरणमा भन्दा घर बाहिर खुला ठाउँमा खेल्ने कुरामा बालबालिकालाई केन्द्रित गराउनु पर्नेमा उनले जोड दिए।