सातौं राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसीप एक सातापछि हुने भएको छ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषद्को संयुक्त आयोजनामा यही असार १४ र १५ गते राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसीप हुने लागेको हो।
प्रतियोगिता टोखा नगरपालिका-३ मा रहेको स्केटर्स नेपाल स्केट पार्कमा सञ्चालन हुने संघले जानकारी दिएको छ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीबारे जानकारी दिएको छ।
संघका अध्यक्ष अच्युत खनालले प्रतियोगितामा ३०० पुरूष र १५० जना महिलाको सहभागिता रहने बताए।
प्रतियोगितामा स्केटबोर्ड खेलअन्तर्गत स्ट्रिट फ्रि स्टाइलमा बेस्ट ट्रिक र बेस्ट रन विधामा खेलाइने अध्यक्ष खनालले बताए ।
स्केटबोर्डमा स्ट्रिट र पार्क दुई विधामा खेल हुने भए पनि नेपालमा स्ट्रिट विधामा मात्र खेल हुँदै आएको छ। टाइम र ट्रिकको आधारमा यो खेल हुने अध्यक्ष खनालले जानकारी दिए।
अध्यक्ष खनालका अनुसार प्रतियोगितामा सहभागिताका लागि जिल्लाबाट छनोट भएका खेलाडीहरूले प्रदेश र संघमार्फत नाम दर्ता गराउन सक्नेछन्।
प्रतियोगिताको पुरूष तथा महिलातर्फ विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रोले १० नगद हजार पुरस्कार पाउनेछन् ।
यस्तै प्रतियोगितामा विजेता हुने महिला र पुरूष खेलाडीलाई आगामी सेप्टेम्बरमा इटलीमा आयोजना हुने वर्ल्ड स्केट च्याम्पियनसीपमा सहभागी गराउने संघका सचिव दिनेश बजगाइँले जानकारी दिए।