नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्यपदक जितेर इतिहास रचेकी छिन्।
ओलम्पिक स्तरको प्रतिस्पर्धमा नेपालले पदक जितेको यो पहिलोपटक हो।
पारा ओलम्पिक अपांगता भएका खेलाडीहरूले खेल्ने प्रतियोगिता हो।
शुक्रबार राति फ्रान्सको पेरिसमा के-४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले कास्य पदकको भिडन्तमा सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै इतिहास रचिन्।
पलेशाले खेल्ने के-४४ विधा ‘एउटा हातको कुहिना भन्दा तलको भाग नहुने’ खेलाडीको विधा हो।
त्यसअघि उनले अन्तिम १६ को खेलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। तर, क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेसँग १०-८ ले पराजित भएकी थिइन्।
अन्तिम आठमा पराजित भएपछि उनले रिपाचेज (कास्य पदकको ढोका) मा मौका पाएकी थिइन्। जसमा उनले पहिलो खेलमा फ्रान्सकी सेफी कार्भजनलेलाई २-१ ले पराजित गर्दै उनी कास्य नजिक पुगेकी थिइन्।
कास्यको भिडन्तमा उनले सर्वियन खेलाडीलाई पराजित गरेसँगै इतिहास रच्न सफल भइन्।
यसअघि उनले यो प्रतियोगिताका लागि छनोट जितेर पनि इतिहास बनाएकी थिइन्।
गत गर्ष चीनको ताइयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरेकी थिइन्।
पलेशा पारा ओलम्पिकका लागि छनोट हुने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।
पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन्। पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी थिइन्।
टोकियो पारा ओलम्पिक–२०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन्।
पलेशा हाल चीनको सांघाइको तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी छन्।
नेपालकको पारा तेक्वान्दोकी स्टार खेलाडी बागबजारकी हुन्। उनको जन्मिदै बायाँ हातको कुहिनामुनिको भाग थिएन।
विद्यालयस्तरदेखि नै तेक्वान्दोमा आकर्षित भएकी २० वर्षीय पलेशाले सन् २०१६ देखि पारा तेक्वान्दो खेल थालेकी हुन्।
त्यसपछि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी उनले दजर्नौं अवार्ड जितेकी छिन्। उनलाई कविराज लामाले प्रशिक्षण दिइरहेका छन्।