हंगेरीको बुढापेस्टमा ४५ औं ओलम्पियाड मंगलबारदेखि औपचारिक रूपमा सुरू भएको छ।
तर प्रतियोगिताका लागि छनोट भएका नेपालका ९ जना खेलाडीको भने सहभागिता नहुने भएको छ।
प्रतियोगिताका लागि नेपालबाट १० खेलाडी छनोट भएका थिए। १० खेलाडीमध्ये विवेक थिङ अस्ट्रेलियाबाट मंगलबार बुढापेस्ट पुगेका थिए।
अब उनले मात्र खेल्न पाउने नेपाल चेस महासंघका सदस्य राजु ताम्राकारले दाबी गरे। थिङले र्यापिङ र ओपनमा खेल्ने पाउने उनको भनाइ छ।
अस्ट्रेलियाबाट विवेक हंगेरी पुगे पनि नेपालमा रहेका अरू ९ खेलाडीले भने भिसा प्राप्त गर्न सकेनन्।
सुरू नेपालका ९ खेलाडीसहित २१ जनाको हंगेरीको भिसाका लागि काठमाडौंस्थित जर्मन दूतावासमा भिसा आवेदन दिइएको थियो।
९ जना खेलाडीबाहेक नेपाली टोलीमा नेपाल चेस महासंघका अध्यक्ष हेराकाजी महर्जन, महासचिव धर्म लामा, कोषाध्यक्ष ताराबहादुर रानाभाट, सदस्य राजु ताम्राकारसँगै नारायणदास गमाल, अमृतचन्द्र श्रेष्ठ, प्रेमबहादुर मल्ल, अनिलकुमार रिजाल, माधवप्रसाद प्रधान, चन्द्रमणी गेरै लगायतको नाम थियो।
तर दूतावासले ९ खेलाडीसहित सबै जनालाई भिसा दिन अस्वीकार गर्यो।
नेपालबाट भिसा नपाएपछि ९ जना खेलाडी, अध्यक्ष महर्जन र सदस्य ताम्राकार भारतको नयाँ दिल्ली गएका थिए। तर त्यहाँबाट पनि खेलाडीसहितका पदाधिकारीलाई भिसा प्राप्त नभएको सदस्य राजु ताम्राकारले जानकारी दिए।
नेपाली टोली भारतको दिल्लीस्थित हंगेरी दूतावास पुगेर आवश्यक प्रकिया पूरा गरे पनि दूतावासले आवेदन नदिन भनेपछि भिसा प्राप्त गर्न नसकिएको ताम्राकारले बताए।
नेपालबाट भिसा लिने क्रममा अनावश्यक व्यक्तिको नाम पनि टोलीमा राखिएकाले भिसा अस्वीकृत भएको जानकारी पाएको महासंघका वरिष्ठ उपाध्यक्ष दिपेन राईको भनाइ छ।
‘नेपालमा हंगेरीको दूतावास नभएपछि हामीले भिसाका लागि जर्मन दूतावासमा समय लिएका थियौ। यहाँबाट नौ जना खेलाडी, दुई जना अफिसियल, डेलिगेट्स र हेड हफ डेलिगेट्स गरी कुल १३ जना जानु पर्ने हो। चेस महासंघको कार्यसमितिमा नभएका साथी र केही पत्रकार साथी जाने टोलीमा थपिनु भयो। यो विषयमा अध्यक्ष र महासचिवले छलफल नगरी नाम राख्नु भएछ,’ राईले भने।
नेपालबाट भिसा नपाउदा खेलाडीहरूलाई अनावश्यक दबाब परेको समेत उनको भनाइ थियो।
‘यहाँको दूतावसले तपाइँहरू फर्कनु हुन्छ भन्ने आधार नभएको बताएको भन्ने सुनियो। खेलाडीभन्दा अफिसियल बढी भएकोमा पनि उनीहरूको प्रश्न थियो,’ राईले भने।
दूतावासले सेन्जेन भिसाका लागि चेस महासंघबाहिरका मानिसको नाम सिफारिस गरेकाले शंका गरेको महासंघका एक सदस्यको दाबी छ।
ओलम्पियाडको तयारीका लागि बन्द प्रशिक्षण समेत सञ्चालन गरेको थियो। त्यसका लागि काजकिस्तानका ग्रान्ड मास्टर (जीएम) मुर्ताज कागालेएभ नेपाल आएका थिए। नेपालको प्रशिक्षकको रुपमा उनी बुढापेस्ट पुगिसकेका छन्।
ओलम्पियाडमा नेपालबाट पुरुषतर्फ राजन सुवेदी, सुश्रुत दाहाल, क्षितिज भण्डारी, रुपेश जैसवाल र विवेक थिङ छनोट भएका थिए। महिलातर्फ सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, शान्ति धिमाल र रिया श्रेष्ठ सहभागी हुने बताइएको थियो।
तर विवेकबाहेक अरु खेलाडी दिल्लीबाट हंगेरीको भिसा लिने दोस्रो प्रयास सफल हुन सकेनन्। त्यसैले अब नेपाली टोली दिल्लीबाट हंगेरी होइन स्वदेश फर्कनु पर्ने भएको छ।