जैविक विविधताको संरक्षणमा सचेतनाका लागि भनेर गरिएको म्याराथनको पुरूषतर्फ सञ्जय श्रेष्ठ र महिलातर्फ प्रजिता श्रेष्ठ प्रथम भएका छन्।
रोटरी क्लब अफ चितवनले चितवन निकुञ्जको मुख्य कार्यालय नजिकै रहेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्म संरक्षणका लागि दौड आयोजना गरेको थियो।
‘अन्तर्राष्ट्रिय हेरिटेज म्याराथन’ मा पुरूषतर्फ राजेन्द्र तामाङ दोस्रो, रत्नबहादुर खत्री तेस्रो र धिरबहादुर बुढाले सान्त्वना स्थान प्राप्त गरे।
महिलातर्फ फूलमति रानाले दोस्रो, आशा रातवले तेस्रो र राज्यलक्ष्मी रावलले सान्त्वना स्थान प्राप्त गरेको क्लबका सचिव पुरूषोत्तम रिजालले जानकारी दिए।
सञ्जयले १४ किलोमिटर दूरी ४५ मिनेट १६ सेकेण्ड र प्रजिताले ५६ मिनेट ११ सेकेण्डमा पार गरेका थिए।
प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनाले ५ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।
म्याराथनमा बेलायत, अमेरिका, कम्बोडिया, साउथ सुडान, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड लगायतका १९ देशमा बसोबास गर्ने एनआरएनहरूसहित ४५० जना सहभागी भएको क्लबका अध्यक्ष भानु शर्माले जानकारी दिए। उनीहरूमध्ये १०९ जनाले दौड पूरा गरेका थिए।
जैविक विविधता र पारिस्थितिकी प्रणालीको संरक्षणमा चेतना फैलाउने, सरसफाइको विषयमा स्थानीयलाई जागरूक बनाउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय हेरिटेज म्याराथन’ गरिएको कार्यक्रम संयोजक राजन पियाले बताए।
स्थानीय तह, स्थानीय बासिन्दा, व्यवसायी र संस्थाहरूबीचको सहकार्यलाई प्रोत्साहन गर्दै दिगो पर्यटनको विकासका लागि सहयोगी हुनेगरी हरेक वर्ष म्याराथन गर्ने पियाले बताए।
क्लबका अध्यक्ष भानु शर्माले अन्तर्राष्ट्रिय सम्पदा म्याराथनको अवसरमा भरतपुर–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा सरसफाइ पनि गरिएको जानकारी दिए।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जैविक विविधताको संरक्षण र चितवनका पर्यटकीय गन्तव्यको प्रचार हुने भएकाले महानगरले म्याराथनलाई प्रवर्द्धन गरेको बताइन्।
उनले भरतपुर भ्रमण वर्षलाई लक्षित गरेर गरिएका विभिन्न कार्यक्रममध्ये म्याराथन पनि एक भएको बताइन्।