जिम्बाम्बेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत सुपर सिक्समा मंगलबार अफगानिस्तानले युएईलाई ५ विकेटले हराउँदै आफ्नो विश्वकप यात्रा जिवितै राखेको छ।
सुपर सिक्स अंक तालिकामा उत्कृष्ट २ हुने टिम इंग्ल्याण्ड र वेल्समा आयोजना हुने सन् २०१९ विश्वकप खेल्न योग्य हुनेछन्।
मंगलबार युएईले दिएको १७८ रनको लक्ष्य अफगानिस्तानले ५ विकेट गुमाएर ३४.३ ओभरमा पुरा गरेको थियो।
निकै खराब सुरुवात गरेको अफगानिस्तानले एक समय मात्र ५४ रन जोड्दा ५ विकेट गुमाईसकेको अवस्था थियो। तर, त्यसपछि ओपनर गुल्बदीन नैबले सातौं नम्बरमा आएका नाजिबुल्लाह जद्रानसँग १२४ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित दिलाए।
नैबले ९७ बलमा ७४ रन र नाजिबुल्लाह जद्रानले ६४ बलमा ६३ रनको योगदान गरे।
बलिङतर्फ युएईका मोहम्मद नाविद र कदीर अहमदले २-२ लिए भने अहमद राजाले १ विकेट लिए।
यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७७ रन बनाएको थियो।
उसका लागि शैमान अनवरले ६४, मोहम्मद नवीदले ४५, चिराग सुरीले २२ रन तथा मोहम्मद उस्मानले १३ रन बनाएका थिए।
बलिङमा अफगानिस्तानका राशिद खानले ५ विकेट लिए। ९ ओभरको स्पेलमा उनले ४१ रन खर्चेर ५ विकेट हात पारेका थिए। यस्तै दौलत जर्द्रान, मुजीब उर रहमान र मोहम्मद नाबीले १-१ लिए।
अब अफगानिस्तानले सुपर सिक्सको अन्तिम खेल आयरल्याण्डसँग खेल्नेछ। जसमा विजयी भए र युएईले जिम्बाबेलाई तथा स्कटल्याण्डले वेस्ट इन्डिजलाई पराजित गरेमा नेट रनरेटका आधारमा वेस्ट इन्डिज र अफगानिस्तान मध्ये १ टिम विश्वकपमा छनोट हुनेछन्।
बाँकी खेलहरु :- चैत ७ : वेस्ट इन्डिज Vs स्कटल्याण्ड
चैत ८ : जिम्बाबे Vs युएई
चैत ९ : अफगानिस्तान Vs आयरल्याण्ड