एसिया कप २०२३ अन्तर्गत भारतले सुपर फोरको खेलमा लगातार दोस्रो जित निकालेको छ। सोमबार पाकिस्तानलाई पराजित गरेको भारतले मंगलबार आयोजक श्रीलंकालाई ४१ रनले हरायो।
जितसँगै भारत अन्तिम खेलअघि नै फाइनलमा पुग्यो। भारतले सुपर फोरको अन्तिम खेलमा शुक्रबार बंगलादेशसँग खेल्नेछ।
मंगलबार पहिले ब्याटिङ गरेको भारत ५ बल खेल्न बाँकी छदा २१३ रनमा अलआउट भयो।
भारतका लागि रोहित शर्माले सबैभन्दा बढी ५३ रन जोडे।
बलिङमा श्रीलंकाका दुनिथ बेललागेले ५ विकेट लिए। एकदिवसीय खेलमा पहिलो पटक ५ विकेट लिएका उनले १० ओभरमा १ मेडन राख्दा ४० रन खर्चिए। चरिथ असलंकाले पनि ४ विकेट लिए।
२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमा १७२ रनमै अलआउट भयो। उसका लागि धनन्जय डि सिल्भाले ४१ रन र दुनिथले नटआउट ४२ रन जोडे।
बलिङमा भारतका कुलदिप यादवले ४ विकेट लिए भने जसप्रित बुमराह र रविन्द्र जडेजाले २-२ विकेट लिए।