बागमती प्रादेशिक क्रिकेट संघले काठमाडौं महानगरपालिकासँग क्रिकेट विकासका लागि सहकार्य गर्ने भएको छ।
बागमती क्रिकेटका अध्यक्ष पारस खड्का र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्यका लागि सहमति भएको हो।
खड्काले सामाजिक सञ्जालमा बागमती प्रदेश र महानगरबीच सम्झौता भएको तस्बिर पनि सार्वजनिक गरेका छन्।
उनका अनुसार काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम सञ्चानल हुने र कार्यक्रममा काठमाडौंका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकलाई तालिम दिइने उल्लेख छ।
पाँच दिने उक्त क्रार्यक्रमका लागि काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ। कार्यक्रम असोज १६ देखि २० गतेसम्म सञ्चालन हुनेछ। जहाँ प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) को लेभल ओ क्रिकेट प्रशिक्षक तालिम प्रदान गरिनेछ।
'नेपाली राष्ट्रिय क्रिकेट टोलीले उल्लेखनीय उपलब्धि हासिल गर्दै गर्दा ग्रासरुट क्रिकेट स्तरमा क्रिकेट प्रशिक्षक तथा प्रशिक्षार्थीको अनुपात निकै न्युन रहेको हाम्रो बुझाई छ,’ पारसले लेखेका छन्, ‘यस समस्यालाई सम्बोधन गर्न, बागमती प्रादेशिक क्रिकेट संघ तथा काठमाडौं महानगरपालिकाको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रमको आयोजना गरेका छौं। यस कार्यक्रमले काठमाण्डौं जिल्लाका ५० विद्यालय स्तरका क्रिकेट प्रशिक्षकहरूलाई तालिम दिई सहर भरका इच्छुक क्रिकेट खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गरी एक कोशेढुंगा बन्न सक्ने विश्वास गरेका छौं।’
कार्यक्रमपछि ग्रासरुट स्तरदेखि सम्भावना बोकेका क्रिकेट खेलाडीको संख्या बढाइ, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका लागि तल्लोस्तरबाटै क्षमता अभिवृद्धि गर्ने विश्वास गरेको पारसको भनाइ छ।
कार्यक्रमका लागि महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा महानगरपालिका अन्तर्गतका केही स्कुल तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था समत गरिरहेको पारसले जानकारी दिए।