पाकिस्तानी क्रिकेट टिमका तीव्र गतिका बलर नशीम शाहको दाहिने काँधमा लागेको चोट सोचेभन्दा खराब देखिएको छ।
काँधको चोट सुरुमा आशंका गरिएको भन्दा खराब रहेको स्क्यानले पत्ता लगाएपछि अब उनले भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने सम्भावना छ।
अहिलेको अवस्थामा उनको चोट निको हुन समय लाग्ने देखिएको छ। अहिलेको स्क्यानका आधारमा भन्ने हो भने डिसेम्बरमा अष्ट्रेलियामा हुने टेस्ट शृंखलामा उनको सहभागिता हुनेमा शंका छ। यस्तै उनले सन् २०२४ मा हुने पाकिस्तान सुपर लिग पनि गुमाउन सक्छन्।
नशीम गत साता एसिया कपमा भारतविरुद्धको खेलमा ४६औं ओभर बलिङ गर्दा घाइते भएका थिए। जसका कारण उनले खेलमा ब्याटिङ समेत गर्न सकेका थिएनन्।
नशीम विश्वकपमा अनुपस्थित हुने र त्यसपछिको अष्ट्रेलियामा हुने शृङ्खला गुमाउने कुरा पाकिस्तानका लागि ठूलो झट्का हुनेछ।
विगत एक वर्षमा नशीम पाकिस्तानका मुख्य बलर हुन्। अहिले नशीमसँगै शाहीन शाह अफ्रिदी र हरिस रउफ पाकिस्तानका उत्कृष्ट बलर हुन्।
पाकिस्तान क्रिकेट बोर्डले केही दिनमा पूर्ण स्क्यानको नतिजा आएपछि आधिकारिक निर्णय गर्ने अपेक्षा गरिएको छ। उनको ठाउँमा एसिया कपमा जमान खानले खेलेका थिए भने अर्को सम्भावित स्थानमा आएका मोहम्मद हसनैन पनि अहिले घाइते छन्।
उनी एकदिवसीय खेलमा डेब्यू गरेदेखि सबैभन्दा उच्च लयमा रहेका बलर हुन्। उनले १४ खेलमा १७ भन्दा कम औसतमा ३२ विकेट लिएका थिए।