नेपाल क्रिकेट संघको केन्द्रीय सचिवमा निर्वाचित भएका पारस खड्काले घरेलु क्रिकेट संरचनाको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
शनिबार भएको केन्द्रीय कार्यसमितिको निर्वाचनमा खड्काले ४८ मत पाएर निर्वाचित भएका थिए। उनका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत पाएका थिए। कुल ८५ मत खसेको थियो।
निर्वाचित भएपछि पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका हुन्।
उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि बढाउने पनि बताए।
‘धेरै मानिसले पारस खड्काले के गर्छ? क्यानमा आएर भन्ने थियो। यहाँ पारस खड्काले मात्रै गरेर हुँदैन। नेपाल क्रिकेटले मलाई सबै कुरा दिएको छ। मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरू छन्, तिनीहरूलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भूमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रूपमा अझ अघि कसरी बढाउँ भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिबद्धता गर्छु,’ उनले भने, ‘सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना छ। म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ। आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने? भन्ने हुन्छ।’
उनले अहिलेको नेपाली क्रिकेट टिम परिपक्व भएको र आफूले खेल्दा भएको सम्बन्धका आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीप गर्ने सोचेको पनि उनले बताए।
‘नेपाली टिम परिपक्व छ। मैले क्रिकेट खेल्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको छु, त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीपमा सोचेको छु,’ उनले भने।