हाङझाउ एसियाली खेलकुद अन्तर्गत नेपालले पुरूष क्रिकेटको आफ्नो पहिलो खेलमा कीर्तिमानको ओइरो लगाएको छ।
झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाविरूद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा ३१४ रन जोड्यो।
कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको कीर्तिमानी ब्याटिङ गरेपछि नेपालले टी-२० मा इतिहासकै ठूलो योगफल तयार गरेको हो। यसअघि टी-२० को विश्व कीर्तिमानी योगफल २७८ रन थियो। यो स्कोर चेक र अफगानिस्तानले बनाएका थिए।
यस्तै कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को कीर्तिमान बनाए। यसअघिको सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान ३५ बलमा दक्षिण अफ्रिकाका डेभिड मिलर, चेकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए। नेपालको लागि सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान पारस खड्काको नाममा ४९ बलमा थियो।
दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए। उनले १२ बलको विश्व कीर्तिमान पनि भंग गरेका हुन्। यो कीर्तिमान भारतका युवराज सिंहको नाममा थियो। दीपेन्द्रले १९औं ओभरका पछिल्ला पाँच बलमा ५ छक्का हिर्काएका थिए। अर्को ओभरको दोस्रो बलमा पनि छक्का हिर्काएपछि उनले ६ बलमा ६ छक्का प्रहार गर्ने अर्को विश्व कीर्तिमान बनाए।
खेलमा कुशल मल्लले ५० बलमा नटआउट १३७ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा नटआउट ५२ रन प्रहार गरे। कुशलले ८ चौका र १२ छक्का तथा दीपेन्द्रले ८ छक्का हिर्काए।
त्यसअघि कप्तान रोहित पौडेल २७ बलमा ६१ रन, कुशल भुर्तेल २३ बलमा १९ रन र आसिफ शेख १७ बलमा १६ रन जोडेर आउट भएका थिए।
खेलमा नेपालले २६ छक्का र १४ चौका प्रहार गरेको थियो।