हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ।
मंगलबार बिहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २०२ रन जोड्यो।
नेपाल र भारतबीचको यो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो।
भारतका लागि यशस्वी जैशवालले शतक प्रहार गरे। उनले ४९ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। शतक प्रहार गरे लगत्तै जैशवाल दीपेन्द्रको बलमा रोहितबाट विकेट पछाडि क्याच भए।
यस्तै रिंकु सिंह ३७ रन र शिवम् दुवे २५ बलमा नटआउट रहे।
भारतका कप्तान रूतुराज गायकवाडलाई दीपेन्द्रसिंह ऐरीले २५ रनमा आउट गरे। भारतले ९.५ ओभरमा पहिलो विकेट गुमाउँदा १०३ रन जोडेको थियो।
यस्तै तिलक बर्मालाई सोमपाल कामीले २ रनमा बोल्ड गर्दा सन्दीप लामिछानेले जितेश शर्मालाई ५ रनमा आउट गरे।
बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।
नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।
भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए।