चीनमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।
क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीबार मध्याह्न नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो।
स्वदेश फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले भने, 'सोचेजस्तो नतिजा नआए पनि खेल राम्रो भयो।'
उनले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताए।
उनले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुसी भएको बताए। आउने दिनमा बलिया देशहरूसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने उनले बताए। टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको उनले बताए।
त्यस्तै, क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुसी भएको बताए।
उनले अहिले टिम एकजुट भएर खेलिरहेको बताए। अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने उनले बताए।
एसियाड गेममा सहभागी भई स्वदेश फर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो।
एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो। पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो।