भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकाविरूद्ध इतिहासकै सबैभन्दा धेरै रन बनाएको छ।
शनिबार दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा भएको खेलमा श्रीलंकाविरूद्ध दक्षिण अफ्रिकाले ५ विकेट गुमाएर ४२८ रन बनाएको हो।
टस जितेको श्रीलंकाले पहिला बलिङ गर्ने निर्णय गरेको थियो।
दक्षिण अफ्रिकाका लागि तीन जना ब्याट्सम्यानले शतक पूरा गरेका छन्।
क्विन्टन डी नकले १०० रन, रसी भ्यान देर दुसेनले १०८ र आइडेन मार्क्रमले १०६ बनाएका थिए। मार्क्रमले ४९ बलमा शतक हानेर विश्वकपमा नयाँ रेकर्ड बनाएका छन्।
हेनरिच क्लासेनले २० बलमा ३२ रन बनाए। डेभिड मिलरले २१ बलमा ३९ रन र म्याक्रो जनसेनले ७ बलमा १२ रन बनाउँदै नट आउट रहे।
बलिङतर्फ श्रीलंकाका दिलसान मदुसंकाले २ विकेट लिए भने कसुन रजिथा, मथिसा पथिराना र दुनिथ वेल्लालेजले १/१ विकेट लिए।
एकदिवसीय विश्वकप क्रिकेटको इतिहासमै सर्वाधिक रन बनाएर दक्षिण अफ्रिकाले कीर्तिमान कायम गरेको छ। यसअघि उक्त रेकर्ड अष्ट्रेलियाको नाममा थियो। सन् २०१५ को विश्व कपमा अष्ट्रेलियाले अफगानिस्तानविरूद्ध ४१७ रन बनाएको थियो।