एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतले लगातार दोस्रो जित हात पारेको छ।
बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानमाथि ८ विकेटको शानदार जित हात पार्यो। यसअघि भारतले पहिलो खेलमा अस्ट्रेलियालाई पराजित गरेको थियो।
अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले २ विकेटको क्षतिमा ३५ ओभरमै पूरा गर्यो।
भारतको जितमा कप्तान रोहित शर्माले १३१ रन जोडे। उनले ८४ बलमा १६ चौका र ५ छक्का प्रहार गरे। इशान किशनले ४७ रन जोड्दा विराट कोहली ५५ रन र श्रेयस अय्यर २५ रनमा नटआउट रहे।
त्यसअघि दिल्लीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन जोड्यो।
अफगानिस्तानका लागि कप्तान हश्मतुल्लाह शाहिदीले ८० रनको योगदान गरे। उनले ८८ बलमा ८ चौका र १ छक्क प्रहार गरे।
अजमतुल्लाह ओमारजाइले ६२ रन बटुले। उलने ६९ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।
३५ ओभर चल्दै गर्दा ओमारजाइलाई चौथो विकेटको रूपमा गुमाउँदा अफगानिस्तानले १८४ रन जोडेको थियो।
त्यसपछि भने अफगानिस्तानको रनको गति रोकिएको थियो। अफगानिस्तानका नाबी १९ रन र नाजीबुल्लाह जार्डान २ रनमै आउट भएका थिए। रासिद खानले फेरि अफगानिस्तानलाई अघि बढाउन खोजे पनि उनी १२ बलमा १६ रन जोडेर आउट भए।
अफगानिस्तानका ओपनरद्वय रहमुल्लाह गुरबाजले २१ रन र इब्राहिम जर्द्रनले २२ रन जोड्न सके। रहमत शाह १५ रनमा आउट भए।
बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिन सफल भए।
भारतले लगातार दुई जित निकाल्दा अफगानिस्तान भने लगातार दुई खेलमा पराजित भयो। अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग हारेको थियो।