कप्तान देव खनालले शतक प्रहार गरेपछि नेपालले एसिसी यू-१९ प्रिमियर कपमा इरानलाई ३५४ रनको लक्ष्य दिएको छ।
देवले १०० रन जोड्ने क्रममा ६० बलमा १२ चौका र ४ छक्का प्रहार गरे। देवले यू-१९ क्रिकेटमा दोस्रो शतक प्रहार गरेका हुन्।
यसअघि उनले विश्वकप छनोटमा कुवेतविरुद्ध शतक हिर्काएका थिए। नेपालका लागि यू-१९ क्रिकेटमा दुई शतक प्रहार गर्ने कप्तान देव पहिलो खेलाडी हुन्।
देवको शतकसाथै नेपालका लागि ओपनर दीपक बोहराले ६५ रन र दीपक डुम्रेले ६९ रन जोडे।
मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन, साउदी अरेबिया र इरान छन्। समूहको शीर्ष टिम सेमिफाइनलमा पुग्नेछ।