सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा छनोट हुनका लागि नेपालले कात्तिक १३ देखि घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।
एसिया छनोटमा नेपालले समूह चरणमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्दैछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा स्थान पक्का हुनेछ।
नेपालका लागि १० वर्षपछि टी-२० विश्वकपमा छनोट हुने अवसर छ। पछिल्लो पटक नेपालले २०१४ को टी-२० विश्वकप खेलेको थियो।
छनोट प्रतियोगिताअघि नेपालले भोलिदेखि घरेलु मैदानमा हङकङ र युएईसँग टी-२० सिरिज खेल्दैछ।
सिरिजको पहिलो खेलमा नेपालले भोलि १ बजे युएईसँग मुलपानी मैदानमा प्रतिस्पर्धा गर्दैछ। यो खेलसँगै मुलपानी मैदानमा पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हुनेछ। यसअघि मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भने भइसकेको छ।
खेलअघि नेपालका कप्तान रोहितकुमार पौडेलले विश्वकप छनोटअघि सिरिज आयोजना हुनु राम्रो भएको बताए। सिरिजले विश्वकप छनोटलाई फाइदा पुग्ने उनले बताए। यस्तै युएईका कप्तान मोहमद वासीमले पनि नेपालमा आएर सिरिज खेल्न पाउँदा खुसी लागेको बताए।