लगातार चौथो जित निकाल्दै न्युजिल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको शीर्षस्थानमा उक्लिएको छ।
गएराति अफगानिस्तानलाई १४९ रनको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्याण्ड ४ खेलबाट ८ अंक बटुल्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
न्युजिल्याण्डले यसअघि इंग्ल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नेदरल्यान्ड्सलाई ९९ तथा बंगलादेशलाई ८ विकेटले हराएको थियो।
गएरातिको खेलमा न्युजिल्याण्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४ दशमलव ४ ओभरमा अल आउट हुँदै १३९ रनमा समेटियो।
अफगानिस्तानका लागि रहमात शाहले ६२ बलमा १ चौकासहित सर्वाधिक ३६ रन बनाए।
त्यस्तै आजमतुल्लाह ओमरजाई २७, रहमानउल्लाह गुरबाज ११, इब्राहिम जद्रान १४, मोहम्मद नाबी ७, राशिद खान ८ र मुजिब उर रहमान ४ रनमा आउट भए।
न्युजील्यान्डका मिचेल सान्टनार र लोकी फर्गुसनले समान तीन/तीन विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट र म्याट हेनरीले १ विकेट लिए।
भारतको चेन्नइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल बनाएको थियो।
न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रनको योगदान दिए। उनले ८० बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए।
त्यस्तै कप्तान टम लाथमले ६८ रन जोडे। उनले ७४ बलमा ३ चौका र २ छक्कासहित ६८ रन बनाए। विल योगले ५४ रन बनाए। उनले ६४ बलमा ४ चौका र ३ छक्कासहित ५४ रनमा आउट भए। रचिन रविन्द्रले ४१ बलमा २ चौका र १ छक्कासहित ३२ रन जोडे।
अफगानिस्तानका आजमतुल्लाह ओमरजाई र नवीन उल हकले समान दुई/दुई विकेट लिए। त्यस्तै राशिद खान र मुजिब उर रहमानले समान एक/एक विकेट लिए।
योसँगै जारी विश्वकपमा न्युजिल्याण्डले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ।
अहिलेसम्म तीन खेल खेलेको भारत पनि अपराजित रही ६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा छ ।
तीन खेल नै खेलेको दक्षिण अफ्रिका भने १ खेलमा पराजित रही ४ अंकका साथ तेस्रो स्थानमा छ। चौथो स्थानमा पाकिस्तान छ।