नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनु नै आफूहरूको एकमात्र लक्ष्य रहेको बताएका छन्।
आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमना उनले पछिल्लो ६ महिना ब्याटिङ राम्रो भएकाले नेपाली टोली आत्मविश्वासी रहेको बताए।
नेपाल सन् २०१४ को विश्वकपमा छनोट भए यता टी-२० विश्वकपमा छनोट हुन सकेको छैन। पछिल्ला तीन छनोट प्रतियोगितालाई बर्सिएर अहिलेको छनोटमा केन्द्रित हुने कप्तान पौडेलले बताए।
छनोट प्रतियोगिता घरेलु मैदानमा भएको र आफूहरुले ठूलो अवसरको रुपमा लिएको उनले बताए। उनले कुनैपनि टिमलाई सहज रुपमा नलिएको र छनोट हुने आफूहरुको लक्ष्य रहेको बताए।
प्रशिक्षक मोन्टी देसाईले कुनैपनि टिमले विपक्षी टिमलाई कमजोर आँक्न नहुने बताए। उनले नेपाली टिम लयमा रहेकाले आफ्ना कमजोरीलाई सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए। उनले एकपटकमा एउटा खेलको रणनीतिका साथ अघि बढ्ने बताए। उनले आफ्ना लागि सबै खेल महत्वपूर्ण रहेको बताए।
कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा हुने विश्वकप छनोट प्रतियोगिता यही कात्तिक १३ देखि १९ गतेसम्म आयोजना हुँदैछ। नेपाल रहेको समूह 'ए'मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह 'बी'मा युएई, बहराइन, हङकङ र कुवेत छन्। छनोटको पहिलो खेलमा नेपालले कात्तिक १३ गते सिंगापुरसँग टियु मैदानमा खेल्नेछ।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।