आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपाल र सिंगापुरबीच कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पाँच विकेट गुमाइसकेको छ। नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुई दुई विकेट लिइसकेका छन् भने करण केसीले एक विकेट हात पारेका छन्।
सन्दीप लामिछानले सिंगापुरविरूद्ध १०.२ ओभरमा नेपालका लागि पाँचौ विकेट लिए। उनले सिंगापुरका जनक प्रकासलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे। त्यतिबेला सिंगापुरले ५ विकेटको क्षतिमा ७० रन जोडेको थियो।
नेपालका लागि गुल्सन झाले आठौं ओभरमा २ विकेट लिए। गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि उनले अमार्त्य कौललाई शून्यमा आउट गरे।
नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका छन्।
यसअघि सिंगापुरले पहिलो ओभरमै विकेट गुमाएको थियो।
सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरे।
छनोटमा नेपाल समूह 'ए' मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्।
समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।