आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा नजिक पुगेको छ।
बुधबार अंक तालिकाको चौथो स्थानमा रहेको न्युजिल्यान्डलाई १९० रनले पराजित गर्दै दक्षिण अफ्रिका शीर्ष स्थानमा मात्र पुगेन सेमिफाइनल नजिक पनि पुग्यो।
दक्षिण अफ्रिकाले ७ खेलबाट १२ अंक जोडेको छ। दोस्रो स्थानमा झरेको आयोजक भारतले एक खेल कम खेल्दै १२ अंक नै जोडेको छ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको अफ्रिकाले ४ विकेटको क्षतिमा ३५७ रन जोड्यो। उसका लागि क्वान्टन डि ककले ११४ रन र भान डुसेनले १३३ रन जोड्दा डेभिड मिलरले ५३ रन बनाए।
बलिङमा न्युजिल्यान्डका टिम साउथीले २ विकेट लिए।
३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रनमै अलआउट भयो। उसका लागि ग्लेन फिलिप्सले सबैभन्दा बढी ६० रन जोडे। बलिङमा अफ्रिकाका केशव महाराजले ४ विकेट लिए भने मार्को जानसेनले ३ विकेट हात पारे।