आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको सेमिफाइनलमा नेपालले अहिले युएईसँग खेलिरहेको छ।
मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले दुई विकेट गुमाएको छ। युएईका दुवै ओनपर आउट भएका छन्। चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका खालिदलाई ३ रनमा रनआउट गरेका छन्।
सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरेका छन्। दोस्रो विकेट गुमाउँदा युएईले ३० रन जोडेको स्थिति थियो।
नेपाली टिममा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीले टिममा स्थान बनाएका छन्। घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ। यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकी नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।
नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्। अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।
मुलपानी मैदानमा नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो। कीर्तिपुर मैदानमा भएको फाइनलमा भने नेपाल पराजित भएको थियो। फाइनलमा नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो।
त्यसअघि सन् २०२२ मा नेपाल र युएईबीच टी–२० विश्वकप छनोटको सेमिफाइनल प्रतिस्पर्धा भएको थियो। ओमानमा भएको सो खेलमा जित हात पारे विश्वकपमा पुग्ने अवस्था थियो। तर नेपाल ६८ रनले पराजित हुन पुगेको थियो।
त्यसअघि नेपाल र युएईबीच ओमानमै भएको टी–२० सिरिजमा नेपाल २५ रनले पराजित भएको थियो।
सन् २०१९ मा नेपाल र युएईबीच भएको टी–२० सिरिजमा नेपालले तीन मध्ये दुई खेलमा जित निकालेको थियो। सो सिरिजमा नेपाल पहिलो खेलमा पराजित भएको थियो। तर दोस्रो र तेस्रो खेल जित्दै नेपालले सिरिज २–१ ले जितेको थियो।