नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले सन् २०२४ को विश्वकपमा नेपाल छनोट भएको खुसी शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।
शुक्रबार मुलपानी मैदानमा भएको आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईमाथि ८ विकेटको जित निकालेसँगै नेपाल आगामी वर्ष हुने विश्वकपमा छनोट भएको हो।
नेपाल टी-२० विश्वकपमा सन् २०१४ पछि छनोट भएको हो। सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेका खेलाडीमध्ये हाल नेपाली टिममा दुई खेलाडी छन्। सोमपाल कामी र विनोद भण्डारी सन् २०१४ को नेपालको विश्वकप टिममा थिए।
अरू सबै खेलाडी सन् २०१४ को विश्वकप खेलेर हुर्किएको कप्तान पौडेलको भनाइ छ।
‘हाल नेपाली टिममा रहेका अधिकांश खेलाडीले (सोमपाल र विनोद दाइबाहेक) सन् २०१४ को विश्वकप हेरेका थिए। अहिले ती खेलाडी विश्वकप खेल्दैछन्,’ रोहितले भने, ‘विश्वकप खेल्ने सपना पूरा भएकोमा खुसी लागेको छ।’
उनले विश्वकपमा छनोट भएको क्षण आफूले भागवानलाई धन्यवाद दिएको पनि बताए।
‘आज बिहान उठ्ने वित्तिकै भगवानलाई सम्झिएको थिएँ। आज खेल जितेपछि पनि भागवानलाई धन्यवाद दिएँ। त्योबाहेक अरू भावाना व्यक्त गर्न सक्दिनँ,’ रोहितले भने।