भारतीय ब्याट्सम्यान विराट कोहलीले सचिन तेन्दुल्करको नाममा रहेको सर्वाधिक एकदिवसीय अन्तर्राष्ट्रिय शतकको रेकर्ड बराबरी गरेका छन्।
आइतबार एकदिवसीय क्रिकेट विश्वकपमा उनले दक्षिण अफ्रिकाविरूद्ध कोलकतामा नटआउट १०१ प्रहार गरेसँगै ४९औं एकदिवसीय शतक प्रहार गर्न सफल भए।
कोहलीले २८९ एकदिवसीय खेलमा आफ्नो ४९औं शतक पूरा गरेका हुन्। ४९औं एकदिवसीय शतक प्रहार गर्ने क्रममा उनले १२१ बल खेलेर १० चौका हिर्काए।
एकदिवसीय खेलमा १३ हजार रन पूरा गरिसकेका उनले ७० अर्धशतक समेत बनाएका छन्।
सबै फर्म्याटमा सर्वाधिक शतक बनाउने कीर्तिमान भने सचिनकै नाममा छ। सचिनले ४९ एकदिवसीय र ५१ टेस्ट गरी १०० शतक प्रहार गरेका थिए।
विराटले अहिलेसम्म ७९ अन्तर्राष्ट्रिय शतक प्रहार गरिसकेका छन्। उनले एकदिवसीय खेलमा ४९ शतक हिर्काउदा टेस्टमा २९ र टी-२० अन्तर्राष्ट्रिय खेलमा एक शतक प्रहार गरेका छन्।