ग्लेन म्याक्सवेलको दोहोरो शतकमा अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगेको छ।
२९३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ विकेट गुमाउँदा ९३ रन मात्रै बनाएको थियो। चोटग्रस्त अवस्थामा पनि म्याक्सवेलले २१ चौका र १० छक्का प्रहार गर्दै ४६.५ ओभरमै अफगानिस्तानको लक्ष्य पूरा गर्दै देशलाई सेमिफाइनल पुर्याए।
उनले १२८ बलमा दोहोरो शतक पूरा गरे। कप्तान पाट कमिन्स ६८ बल १२ रन बनाएर अविजित रहे।
त्यसअघि डेविड वार्नरले १८, मिचेल मार्सले २४ र मार्नस लबुसचेनले १४ रनमात्रै बनाएका थिए। निराश बनिकसकेको टिमलाई म्याक्सवेलले सेमिफाइनल पुर्याएका हुन्। त्यसमा कप्तान पाट कमिन्सले पनि साथ दिए।
बलिङमा अफगानिस्तानका नवीन उल हक, अजमतुल्लाह ओमारजइ र रसिद खानले दुई/दुई विकेट लिए।
वाङखेडे स्टेडियम मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा २९१ रन बनाएको थियो।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले १२९ रन बनाए। उनले १४३ बलमा ८ चौका र ३ चौका प्रहार गरेका थिए।
रमनुल्ला गुर्बाजले २१ रन, रहमत साहले ३० रन, हस्मतुल्लाह शाहीदीले २६ रन, अजमतुल्लाह ओमारजईले २२ रन, मोहम्मद नाभीले १३ र रसिद खानले ३५ रन बनाएका थिए।
बलिङमा अष्ट्रेलियाका जोश हेजलवुडले २ विकेट, मिचेल स्टार्क ग्लेन म्याक्सवेल र एडम जम्पाले एकएक विकेट लिए।
भारत र दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल पुगिसकेको छ।
अव न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली सेमिफाइनल पुग्नेछन्। यी तीन टोलीको समान ८ अंक छ। नेटरनरेटका कारण न्युजिल्यान्ड चौथो, पाकिस्तान पाँचौं र अफगानिस्तान छैटौं स्थानमा छ ।
न्युजिल्याण्डले श्रीलंकासँग, इंग्ल्याण्डले पाकिस्तानसँग र अफगानिस्तानले दक्षिण अफ्रिकासँग लिग चरणको अन्तिम खेल खेल्नेछ।