केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा पुगेको छ।
आइतबार पोखरा क्रिकेट मैदानमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेपछि एपिएफलाई फाइदा पुगेको हो।
समूह ‘बी’ मा यसअघि एपिएफले लुम्बिनीमाथि जित निकालेको थियो। यस्तै गण्डकीले एपिएफलाई ४ विकेटले पराजित गरेको थियो।
समूहमा तीनै टिमले एक-एक खेल जित्दा समान अंक भयो। नेट रनरेटमा एपिएफ अघि रहदै अन्तिम चारमा पुग्न सफल भयो।
आजको खेल जिते अन्तिम चारमा पुग्ने अवस्थामा रहेको गण्डकी १०४ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्दा १८.५ ओभरमा ९८ रनमै अलआउट हुन पुग्यो।
सुदिप अर्याल अन्तिम विकेटको रुपमा ३५ रनमा आउट हुनु गण्डकीका लागि दुर्भाग्य सावित भयो। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।
बलिङमा लुम्बिनीका मोहमद हुसेनले ४ विकेट लिए। उनले ३.५ ओभरमा ९ रन मात्र खर्चिए। यस्तै अजय लुनियाले ३ विकेट हात पारे।
त्यसअघि गण्डकीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १०३ रन मात्र जोड्न सक्यो।
लुम्बिनका लागि ध्रुव सुनार र नर सार्कीले २३-२३ रनको योगदान दिए। बलिङमा गण्डकीका अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेलले २ विकेट हात पारे।