पोखरा भइरहेको केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छ्न्।
मधेश प्रदेशविरूद्ध टस जितेर पहिले ब्याटिङ गरेको पुलिसका लागि कुशलले १०२ रन जोडेका हुन्। उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। कुशलको शतकसँगै पुलिसले ५ विकेटको क्षतिमा १७५ रन जोड्यो।
पुलिसका लागि अर्का ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले ४५ रन बनाए। उनले ४७ बलमा ४ चौका प्रहार गरे।
धमला र कुशलबीच पहिलो विकेटका लागि १६ ओभरमा १३८ रनको साझेदारी भयो।
समूह 'सी' को यो खेलमा पुलिसका लागि करण केसीले ५ बलमा २ चौका र १ छक्का हिर्काउँदै नटआउट १६ रन जोडे।
बलिङमा मधेशका विशाल पटेल र विशाल सुस्लिङले २-२ विकेट लिए।
१७६ रनको लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रनमा अलआउट हुँदा पुलिसले ५७ रनको जित निकाल्यो।
मधेशका लागि रुपेश सिंहले २५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ४० रन जोडे।
बलिङमा पुलिसका करण केसी, सागर ढकाल, रासिद खान र ललित राजवंशीले २-२ विकेट लिए।
*अपडेट गरिएको