आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत अफ्रिका छनोटमा जिम्बावे दोस्रो खेलमा पराजित भएको छ।
आइतबार जिम्बावेलाई युगान्डाले ५ विकेटले पराजित गर्यो। यसअघि पहिलो खेलमा आइसिसी स्थायी सदस्य जिम्बावे आयोजक नामिबियासँग ७ विकेटले पराजित भएको थियो। सुरुवाती तीन मध्ये दुई खेलमा पराजित भएपछि जिम्बावेको आगामी वर्ष विश्वकप खेल्ने अभियान खतरामा परेको छ।
आइतबार युगान्डाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको जिम्बावेले ७ विकेटको क्षतिमा १३६ रन मात्र जोड्न सक्यो।
जिम्बावेका लागि शिकन्दर राजाले सबैभन्दा बढी ४८ रन जोडे। बलिङमा युगान्डाका दिनेश नकरानीले ३ विकेट लिए।
१३७ रनको लक्ष्य युगान्डाले ५ बल खेल्न बाँकी छदा ५ विकेट गुमाएर पार गर्यो। युगान्डाको जितमा अल्पेश रामजानी ४० रन र राइजत अली शाहले ४२ रन जोडे।
छनोटमा जिम्बावे र नामिबियासँगै केन्या, युगान्डा, नाइजेरिया, रावान्डा र तान्जानिया छन्। सात मध्ये शीर्ष दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन्।
छनोटमा सुरुवाती तीनै खेलमा जित निकालेका नामिबिया र केन्याले ६-६ अंक जोडेका छन्। तेस्रो स्थानको युगान्डाले तीन मध्ये दुई खेलमा जित निकालेर ४ अंक जोडेको छ। जिम्बावे भने तीन मध्ये एक खेल जित निकाल्दै २ अंक जोडेर चौथो स्थानमा छ।
अफ्रिका छनोट सकिएपछि विश्वकपमा खेल्ने सबै २० टिमको टुंगो लाग्नेछ। यसअघि एसिया छनोटबाट नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरेका थिए।