प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ।
सोमबार रुपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा आर्मीले बागमती प्रदेशमाथि १३४ रनको जित निकालेको हो। जारी प्रतियोगितामा बागमतीको भने यो दोस्रो हार हो।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेटको क्षतिमा २६२ रन जोड्यो। आर्मीका लागि सन्तोष कार्कीले ७६ रन जोडे। ओपनिङ ब्याटर सन्तोषले ९८ बलमा १० चौका र १ छक्क प्रहार गरे। उनी खेलको प्लेयर अफ दि म्याच भए।
त्रृतराज दासले ३६ रन र कप्तान विनोद भण्डारीले नटआउट ४७ रन बनाए।
बलिङमा बागमतीका रिजन ढकाल, प्रतिश जिसी र इशान पाण्डेले २-२ विकेट लिए।
२६३ रनको लक्ष्य पछ्याएको बागमती २७ ओभरमा १२८ रनमा अलआउट भयो। बागमतीका लागि विवेक मगरले ५१ रन जोड्न सके।
बलिङमा आर्मीका शाहब आलमले ४ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा ३३ रन दिए। आकाश चन्दले ३ विकेट लिन सफल भए।