आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई २४० रनको लक्ष्य दिएको छ।
दुबईमा टस जितेको घरेलु टोली युएईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा २३९ रन जोड्यो।
खराब सुरूवात गरेको नेपालका ओपनर २ रनमै आउट भए। त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ उकास्न खोजे। तर १८औं ओभरमा आसिफ ३४ रन बनाएर खेलिरहदा रनआउट हुन पुगे। आसिफले ४८ बलमा ४ चौका प्रहार गरे। आसिफ र भीमबीच दोस्रो विकेटका लगि ७४ रनको सोझेदारी भयो।
२१ औं ओभरमा कप्तान रोहितकुमार पौडेल २ रनमा आउट हुन पुगे। दुई ओभरपछि भीम सार्की पनि ४८ रन जोडेर पेभिलियन फर्के। भीमले ६८ बलमा ७ चौका प्रहार गरे।
आरिफ शेख र दीपेन्द्रसिंह ऐरीबीच ४९ रनको साझेदारी भयो। दीपेन्द्र ३७ रनमा रनआउट भए भने आरिफले ३० रन बटुले। आरिफ आउट भएको अर्को ओभरमा करण केसी खाता नै नखोली पेभिलियन फर्किए।
अन्तिम ओभरको पाँचौ बलमा आउट भएका कुशल मल्लले ४५ रन बनाए। उनले ५१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए। सन्दीप लामिछानले १० बलमा नटआउट १५ रन बनाए।
बलिङमा युएईका जुनइद सिद्धिकी, मुहमद जवाहदुल्लाह र ध्रुव परासरले २-२ विकेट लिए।
जारी सिरिजमा नेपाल जितविहीन छ। आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो।
यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक खेलमा नेपाल पराजित भएको थियो। ८ अंक जोडेको युएई लिगको अंक तालिकामा पुछारमा छ। नेपाल १२ अंकसहित सातौं स्थानमा छ।