प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले उत्कृष्ट सुरूवात गरेको छ।
मंगलबार रूपन्देहीको सिद्धार्थनगरमा भएको खेलमा मधेसले कोशी प्रदेशमाथि १६५ रनको जित निकाल्दै प्रतियोगितामा सानदार सुरूवात गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसले तीन ब्याटरको अर्धशतकको मद्दतमा ६ विकेटको क्षतिमा २८४ रन जोड्यो।
मधेसका लागि ओपनर तथा कप्तान अनिलकुमार साहले ७५ रन बनाए। उनले ७५ बल नै खेलर १० चौका प्रहार गरे।
पवन सर्राफले ८५ बल खेलेर ९२ रन जोड्ने क्रममा ११ चौका र २ छक्का प्रहार गरेका थिए। दिपेश दासले नटआउट ५६ रन बनाए। उनले ६० बलमा ७ चौका र १ छक्का प्रहार गर्न सफल भए।
बलिङमा कोशीका विपिन महतो र प्रकास कार्कीले २-२ विकेट लिए।
२८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रनमै अलआउट भयो। कोशीका लागि शकिब हकले २५ रन बनाए। कोशीका ओपनरद्वय चिराग साह र अंकित सुवेदी दुवै डकआउट भएका थिए।
बलिङमा मधेसका रूपेश सिंहले ५ विकेट लिए। उनले ९ ओभरमा २९ रन खर्चिए। राजेश यादवले ३ विकेट लिन सफल भए। जारी प्रतियोगिता कोशी लगातार दुई खेलमा पराजित भइसकेको छ।