अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वर्षको फागुन १७ गते बसेको बैठकको निर्णयमा कीर्ते हस्ताक्षर भएको भन्दै त्यसको जाँचका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा उजुरी परेको छ।
२०७९ फागुन १७ गते को निर्णयमा आफूहरुले हस्ताक्षर नगरेको भन्दै एन्फाका केन्द्रीय सदस्यद्वय भरतबहादुर बुढथापा र टिकाराम लामाले निवेदन दिएकाले त्यसको जाँच गर्न आज परेको उजुरीमा माग गरिएको छ।
उनीहरूले आफूले हस्ताक्षर नगरे पनि कीर्ते गर्दै हस्ताक्षर गरिएको भन्दै एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई सोहि दिन निवेदन दिएका थिए।
उनीहरूले निवेदन दिएको एक वर्ष बितेपछि सोही विषयमा प्रहरीमा उजुरी परेको हो।
प्रहरीमा आज दर्ता भएको उजुरीमा कीर्ते हस्ताक्षरको भएको हो वा होइन भन्ने निर्क्यौल गर्न फरेन्सिक ल्याब परीक्षणमा गर्न माग समेत गरिएको छ।
ल्याब परीक्षणपछि दोषी उपर कीर्ते जालासाझी मुद्दामा कारबाहीको प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ।
२०७९ फागुन १७ गते एन्फा कम्प्लेक्समा बसेको बैठकको निर्णयमा निर्वाचित २१ मध्ये ११ सदस्यले हस्ताक्षर गरिएको भनिएको थियो। सो बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङसहित वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दावा लामा, केन्द्रीय सदस्यहरू अनिल मल्ल, पुरुषोत्तम थापा, विकासनारायण श्रेष्ठ, मनिराज विष्ट, भरतबहादुर बढथापा, टिकाराम श्रेष्ठ, सरिला श्रेष्ठ मलेकु र दीपेन्द्र धिमालले हस्ताक्षर गरिएको भनिएको थियो।
तर भरत र टिकाले बहुमत पुर्याउन आफूहरूको हस्ताक्षर कीर्ते गरेको भन्दै अध्यक्षलाई निवेदन दिएका थिए।
एक वर्षपछि भरत र टिकाले दिएको निवेदन र कार्यसमितिको निर्णयको प्रति संलग्न गर्दै प्रहरीमा उजुरी गरिएको हो।
सो दिन १९ वटा निर्णय भएका थिए। जसमा विभिन्न नियुक्ति गर्नुका साथै आपतकालिन समिति गठन, सिइओ नियुक्तिलाई सूचना प्रकासन, विभिन्न समिति गठन लगायतको निर्णय भएको थियो।