विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
मंगलबार अन्तिम क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।
विराटनगरको सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मच्छिन्द्र एफसि काठमाण्डौले कोलकाताको साउर्थन समिति एफसिलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
जितको लागि मच्छिन्द्रका विदेशी खेलाडी स्टेफन विनोङ नायक भए। टिमलाई सेमिफाइनलमा पुर्याउन दुवै गोल स्टेफनले गरे ।
खेलको प्लेयर अफ द म्याच पनि स्टेफन घोषित भए । उनले नगद ११ हजार पाए । कोलकाताको तर्फबाट सान्तवना गोल सोनु हल्दारले फर्काए ।
सेमिफाइनल प्रवेश गरेको मच्छिन्द्रले अब फाइनल प्रवेशका लागि बिहीबार सिक्किम ड्रागन भारतसँग सामना गर्दैछ। यसअघि घरेलु टिम सांग्रीला मोरङ एफए र विभाग्य टिम सशस्त्र प्रहरी बल (एपीएफ) सेमिफाइनलमा पुगिसकेका छन्।
एपीएफले इटहरी गोल्डकप च्याम्प्यिन चर्च ब्वाईज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।
प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेलमा बिहीबार सांग्रीला र विभाग्य टिम एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।