गत वर्ष सातौं संस्करणको विराट गोल्डकप फुटबलको उपाधि चुम्दा राष्ट्रिय टोलीका पूर्व गोलकिपर विशाल श्रेष्ठ घरेलु टिम विराटनगरका कप्तान थिए।
यसपटक विशालले मच्छिन्द्र क्लबको नेतृत्व सम्हालेका छन्। उनको कप्तानीमा रहेको मच्छिन्द्र आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा पुगिसकेको छ। संयोग कस्तो छ भने विशाल र उनको टिमले शनिबार (आज) साँझ हुने फाइनलमा घरेलु टिमसँगै प्रतिष्पर्धा गर्दैछ।
नेपाली फुटबलका अनुभवी खेलाडी विशाललाई थाहा छ, व्यावसायिक खेल जीवनमा कुनै खेलाडी कहिले एउटा, कहिले अर्को टिममा पुग्नु एकदमै स्वाभाविक हो। तर, कप्तानका रुपमा लगातार दोस्रोपटक उपाधि नजिक पुग्नु उनका लागि रोमाञ्चक क्षण हो।
‘टोलीका लागि विराट गोल्डकपको उपाधि पहिलोपटक जितेर इतिहास रच्न हामी आतुर छौं’, श्रेष्ठले भने ‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो, त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ।’
आज साँझ विराटनगरस्थित शहिद रंगशालामा उपाधि भिडन्तका लागि मैदान ओर्लँदा मच्छिन्द्र एफसी काठमाडौं र घरेलु टिम सांग्रिला मोरङ एफए आमनेसामने हुँदैछन्। दुवै टोलीको लक्ष्य मुलुककै प्रतिष्ठित मध्येको एक यो प्रतियोगिताको उपाधि हात पार्नुहुनेछ।
प्रतियोगिताको विजेता टोलीले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
उपाधि भिडन्त अघि दुवै टोली आत्मविश्वासी देखिएका छन्।मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा हुँदा घरेलु टोली तेस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा हुनेछ।
प्रतियोगितामा घरेलु टिमले विभागीय टिम सशस्त्र प्रहरी बल र पाहुना टोली भुटानको आरटीसी एफसीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। क्वार्टरफाइलनमा भुटानको आरटीसीलाई ३–२ गोलले र सेमिफाइनलमा एपीएफलाई सडन डेथमा ४–३ गोलले हराउँदै उपाधि नजिक पुगेको टोली हो सांगिला।
विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको मच्छिन्द्रले क्वार्टरफाइनलमा कोलकाताको साउथर्न समितिलाई २–१ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो। बिहीबारको सेमिफाइनलमा मच्छिन्द्रले सिक्किम ड्रागन भारतलाई १–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
२०१८ सालमा तत्कालिन महेन्द्र गोल्डकपमा घरेलु टिम मोरङ–११ फाइनलमा पुगेर उपविजेता भएको थियो। पहिलो उपाधि भारतको कोलकाताले जितेको थियो । २०१९ सालमा मोरङ–११ ले उपाधि हात पारेको थियो ।
गत वर्षको सातौँ संस्करणमा विराटनगरको घरेलु टोली विराटनगर सिटी एफसीले गोल्डकपको उपाधि जितेको थियो। भारत केरलाको लुका सकर क्लबलाई फाइनलमा पराजित गर्दै विराटनगर सिटीले उपाधि हात पारेको थियो।
यसपटक दुवै टिमले उपाधि जित्ने आत्मविश्वास प्रकट गरेका छन्। मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आठौँ संस्करणको विराट गोल्डकपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए।
सिजनको तेस्रो उपाधि जित्ने लक्ष्यका साथ खेलाडी मैदान उत्रिने उनले बताए। यसअघि केपी ओली कप र बागमती गोल्डकपको उपाधि जितिसकेको मच्छिन्द्र विशाल श्रेष्ठ, मनिष डाँगी, आयुष घलानसहितका स्टार खेलाडीसहित मैदानमा ओर्लनेछ।
‘उपाधि उचाल्ने प्रयास रहने छ,’ प्रशिक्षक न्यौपानेले भने ‘दुइटा लक्ष्य लिएर विराटनगर आएका थियौं, एउटा उपाधि र अर्को फाइनल पुग्ने, एउटा पूरा भयो, अर्को शनिबार साँझ पूरा हुन्छ।’
घरेलु टिम सांग्रिलाका प्रशिक्षक रानु रानामगरले घरेलु दर्शकको साथ र हौसलाले उत्साही रहेको बताए।
‘मच्छिन्द्र राम्रो टिम हो, अनुभवी खेलाडी छन्, त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौँ’ उनले भने, ‘हामी ग्राउन्ड लेभलबाट खेल खेल्नेछौँ।’
‘ए’ डिभिजन क्लबका अनुभवी खेलाडी समेट्नुका साथै राम्रो तालमेल भएकाले च्याम्पियन बन्नेमा ढुक्क रहेको उनले दाबी गरे।
सांग्रिलाका कप्तान अभिषेक लिम्बुले घरेलु दर्शकको साथ सहयोग र उत्कृष्ट खेल प्रर्दशन गर्ने भएकाले उपाधि जित्नेमा ढुक्क रहेको बताए।
‘अघिल्ला खेलको कमीकमजोरी सुधारेर प्रदर्शन गर्ने र च्याम्पियन बनेरै छाड्नेछौं’ उनले आत्मविश्वास देखाए।
ए डिभिजन लिग विजेता चर्च ब्वाइज र पाहुना टोली भुटान टिमलाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा सांग्रिला ढुक्क रहेको उनको भनाइ छ ।