नेपाल ओलम्पिक कमिटी र नेपाल ओलम्पिक संग्राहलयबीच भएको सम्झौताअन्तर्गत रहेर नेपाली खेलकुदको डिजिटल अभिलेखिकृत प्राजेक्ट '२०२०–२०२१’ सुरु गरेका भएको छ।
नेपाल ओलम्पिक कमिटीको अनुरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीअन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो। सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गरेको छ।
कार्यक्रमलाई लिएर ओलम्पिक कमिटी र ओलम्पिक संग्रहालयबीच यसै वर्षको मार्चमा औपचारिक सम्झौता भएको थियो र अगस्टबाट काम पनि सुरु भइसकेको छ।
नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति वृहत रूपमा पहिलो पटक हुन लागेको छ र यो नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नयाँ पुस्ताका लागि हस्तान्तरण गर्ने प्रयास हुने ओलम्पिक कमिटीले जनाएको छ।
नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्न प्रयास हुन नसकेको स्थितिमा यो प्राजेक्टले त्यसलाई परिपूर्ति गर्ने प्रयास गर्नेछ।
ओलम्पिक संग्रहालयले नेपाली खेलकुदको सुरुआती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धीबारे अभिलेख राख्दै आएको छ। ती अभिलेखलाई अब ‘डिजिटल आर्काइभ'मा सुरक्षित गर्ने प्रयास हुनेछ। यस्तै नेपालका खेलाडी र खेल संघबारे जानकारी संकलन गरिनेछ।
नेपालमा विभिन्न खेलको सुरुआत कसरी भयो, खेलकुद ऐनसँग सम्बन्धित दस्तावेज, नेपाल ओलम्पिक कमिटी स्वंयको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रदर्शनसँगै नेपाली खेलकुदसँग सम्बन्धित तस्बिर र भिडियोको संकलनको प्रयास पनि गरिनेछ। यसका लागि ओलम्पिकसँग आवद्ध खेललाई बढी प्राथमिकता दिइनेछ।
यो कार्यक्रमको सफलताले नेपाली खेलकुदको इतिहासले ‘डिजिटल आर्काइभ'का रूपमा एक निश्चित आकार लिनेछ र यो सबै नेपाली खेलकुदप्रति जिज्ञासुका लागि उपलब्ध हुनेछ।