आधुनिक ओलम्पिक गतिविधिलाई सम्झना गर्दै ओलम्पिकसँग आवद्ध विश्वभरिका राष्ट्रहरुले विविध कार्यक्रमको आयोजना गर्दै मनाईने कार्यक्रम ओलम्पिक डेको नेपालमा पनि आजबाट ५ दिन मनाइने भएको छ।
कार्यक्रमको युवा तथा खेलकुद मन्त्री एकवाल मियाँले आज एक कार्यक्रमका बीच नेपाल ओलम्पिकको सातदोबाटोस्थित कार्यालयमा नेपालको झण्डोत्तोलनका उद्घाटन गरे। यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झण्डोत्तोलन गरे।
कार्यक्रमलार्ई सम्बोधन गर्दै मन्त्री मियाले नेपाली खेलकुदको विकासका लागि टिम स्पिरिटको भावनाले अगाडी बढ्ने बताए।
आफू राजनीतिज्ञ मात्र नभई विकास क्षेत्रबाट अगाडी आएकोले पहिले भन्दा अहिले अझै राम्रो गर्न कसरी सकिन्छ दत्तचित्त भएर लाग्ने बताए। त्यसका लागि उनले सवैको साथ र सहयोगको अपेक्षा रहेको बताए उनले खेलकुदको विकासका लागि आफू सबै प्रकारको सहयोग गर्न र जुनसुकै समयमा सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रमको बारेमा जाकारी दिँदै अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक संग आवद्ध बिश्वका सवै राष्ट्रमा विभिन्न कार्यक्रमहरु आयोजना भईरहेको र त्यहि क्रममा नेपालमा पनि विभिन्न कार्यक्रमसहित ५ दिन सम्म संचालन हुने बताए।
उनले खेलाडी मात्र नभई सवैलाई समेटेर ब्यापक रुपमा ओलम्पिक संग सहकार्य गर्दै अगाडी बढाउनु पर्ने बताए।
ओलम्पिक खेलमात्र नभई साँस्कृतिक रितीरिवाज र बिश्व भातृत्वमार्फत शान्ति अभियानलाई अघि बढाउनु पनि रहेको बताए। उनले ओलम्पिक डेलाई भब्यताका साथ मनाउने उद्धेश्य रहेता पनि कोभिड महामारीका कारण खुम्चिनु परेको समेत बताए ।
सो अवसरमा मन्त्री मियाँ र अध्यक्ष श्रेष्ठले मैत्रीपूर्ण टेबल टेनिस खेलेका थिए। कार्यक्रमका संयोजक कमिसनका अध्यक्ष बिष्णुगोपाल श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गर्दे ओलम्पिक डेको बारेमा प्रकाश पारेका थिए ।
ओलम्पिक डेका अवसरमा नेपालका ३५ जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना हुने भएको संयोजक श्रेष्ठले बताए।