राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बन्नका लागि १८ जनाको निवेदन परेको छ। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दमोदर रेग्मीका अनुसार शुक्रबार दिउँसो २ बजेसम्मा १८ जनाले निवदेन दिएका हुन्।
सदस्यसचिव बन्नका लागि तेक्वान्दोका ओलम्पियन दिपक विष्टसहित नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य छुम्बी लामाले निवेदन दिएका छन्। निवेदन दिने अन्तिम मिति शुक्रबारसम्म थियो।
यस्तै नेपाल घोडचढी संघका अध्यक्ष रविराज राजकर्णीकार, पौडी संघका महासचिव जगतमान श्रेष्ठ, राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्की, रग्वी संघका अध्यक्ष टंकलाल घिरिङसहित आरे विष्ट, अच्युतम लामिछाने, ममता श्रेष्ठ, भरत महर्जन लगायत छन्।
मन्त्रालयका सचिव रेग्मीका अनुसार अब सबैलाई आफ्नो प्रस्तुती दिन आइतबार मन्त्रालयमा बोलाइनेछ।
सबैले आफ्नो योग्यता र प्रस्तुतीका आधारमा नम्बर प्राप्त गर्नेछन्।
जसमा छनोट समितिले एक महिलासहित तीन जनालाई सदस्यसचिव नियुक्तीका लागि मन्त्रिपरिषद्मा पेश गर्नेछ। जसबाट एक जना सदस्यसचिव नियक्त हुनेछन्।
यसअघि रमेश सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गर्दै नयाँ सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको थियो।
यता खेलकुद मन्त्री महेश्वर गहतराजले ८ जनालाई खेलकुद परिषद्को बोर्ड सदस्य मनोनयन गरेका छन्।
मन्त्रीले लामा पेमा डोल्मा, जनक बर्तौला, दिपेन्द्र विष्ट, मोहमद फजिल, श्रीमान् थापा मगर, अन्जन धमाला, विना श्रेष्ठ र प्रकास कुसारीलाई अस्ति बुधबारको मितिमा सदस्यमा मनोनयन गरेका हुन्। उनीहरूको आज शुक्रबार सपथ गरिएको थियो। नियुक्त भएका अधिकांस माओवादी निकट खेलकुदकर्मी हुन्।
यता यसअघि बर्खास्तगीमा परेका ९ जना बोर्ड सदस्यलाई बिहीबार उच्च अदालतले पदमुक्त गर्ने आदेश कार्यान्वयन नगराउन अन्तरकालिन आदेश दिएको थियो।
जसका कारण मनोनयन भएका नयाँ सदस्यको पदको विषयमा अन्योलता छाएको छ।