नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय भएको छ। बुधबारको मन्त्रिपरिषद्को बैठकले प्रतियोगिता जेठ अन्तिम साता गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सेतोपाटीलाई जानकारी दिए।
‘अब तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न कार्ययोजना बनाएर अघि बढ्छौं,’ मन्त्री गहतराजले भने।
उनका अनुसार राष्ट्रिय प्रतियोगिताअघि प्रदेश प्रतियोगिता सम्पन्न हुनेछन्। बागमतिले भने प्रदेश प्रतियोगिता सम्पन्न गरिसकेको छ। प्रदेश प्रतियोगिताबाट खेलाडी छनोट हुनेछन्। प्रदेश प्रतियोगिताका लागि जिल्ला जिल्लाबाट छनोट हुनेछ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय प्रतियोगिताका अधिकांश खेल पोखरामा केन्द्रित हुनेछन्। केही खेल भने आसपासका जिल्लामा हुनेछन्। प्रतियोगितामा तीन विभागीय टिम सेना, प्रहरी र सशस्त्र तथा सात प्रदेश गरी दश टिमले भाग लिनेछन्।
यसअघि प्रदेशका खेलकुद मन्त्रीहरूको बैठकले नवौं राष्ट्रिय प्रतियोगिता अबिलम्ब गर्ने निर्णय गरेको थियो।
अब प्रदेश खेलकुद परिषद्का सदस्यसचिवको बैठक बस्ने मन्त्री गहतराजले जनाकारी दिए। उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बैठकको नेतृत्व गर्नेछन्।
मन्त्रीका अनुसार बैशाख ३० मा हुने स्थानिय चुनावको आसपासमा प्रदेश प्रतियोगिता गरिनेछ। त्यसका लागि प्रदेशलाई बजेट र प्राविधिक व्यवस्थापन गरिनेछ।
यही वर्ष हुनु पर्ने प्रतियोगिता विभिन्न कारणले सारेको थियो।