सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रन दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमलले ६ विकेटको क्षतिमा १४७ रन बनायो।
सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४५ रन बनाए। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
सुदुरपश्चिमका ओपनरद्वय विनोद भण्डारी १५ रन र जोश ब्राउन २४ रन जोडेर आउट भए।
चौथो ओभरमा विराटनगरका बसिर अहमदबाट बोल्ड भएका भण्डारीले १३ बलमा ३ चौका प्रहार गरे। आठौं ओभरको अन्तिम बलमा ब्राउनलाई विराटनगरका सन्दीप लामिछानेले हिजलेटबाट क्याच गराएका थिए। त्यसपछि इशान पाण्डे र आरिफ शेखबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भयो।
सन्दीपबाट नै १७औं ओभरको दोस्रो बलमा डि लाङबाट क्याच हुनुअघि पाण्डेले ३८ रन बनाए। उनले ३५ बलमा २ चौका र २ छक्का प्रहार गरे। लगत्तैको बलमा सन्दीपले हर्मित सिंहलाई डु प्लेसिसबाट क्याच गराउँदै डकआउट गराए।
कप्तान दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि ११ बलमा २ छक्काको मद्दतमा १९ रन जोडे। ऐरी प्रतिश जिसीको बलमा हिजलेटबाट क्याच भए।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चिदा ३ विकेट लिन सफल भए। अन्तिम ओभरको पहिलो र अन्तिम बलमा विकेट लिएका प्रतिश जिसीको नाममा २ विकेट रह्यो। बसिर अहमदले १ विकेट लिन सफल भए।
सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष स्थानमा पर्दै पहिलो क्वालिफायरमा पुगिसकेको छ।
प्लेअफमा पुग्नका लागि आजका लागि विराटनगरका लागि भने जित आवश्यक छ। विराटनगरले सुदूरपश्चिमविरूद्ध ठूलो अन्तरको जितले मात्र उसको दोस्र स्थान पक्का हुनेछ र पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। पराजित भए वा कम अन्तरको जितले विराटनगर तेस्रो स्थानमा सीमित हुनेछ भने इलिमिनेटरमा लुम्बिनी लायन्ससँग खेल्नेछ। यो लक्ष्य विराटनगरले १३.५ ओभरभित्र पूरा गर्न पर्नेछ।
खेलका लागि विराटनगरले चार परिवर्तन गरेको छ। यसअघि खेलेका सुवास भण्डारी, नारायण जोशी, साहिल पटेल र जर्ज मुन्से टोलीमा छैनन्। आज सूर्य तामाङ, शंकर राना, नरेन भट्ट र मार्टिन गप्टिल खेल्दैछन्।
क्रिस लिन र स्कट कुगेलिनको स्थानमा सुदूरपश्चिमले जोश ब्राउन र ध्रुव परासर आज खेलाएको छ।
सुदूरपश्चिम रोयल्स
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अभिनास बोहरा, दिपक बोहरा, इशान पाण्डे, बिनोद भण्डारी, हिक्मत महरा, ध्रुव परासर, जोश ब्राउन, पुनित मेहरा, हरमीत सिंह
विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), बसिर अहमद, सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, फाप डु प्लेसिस, मार्टिन गप्टिल, साम हिजलेट, मर्स्याङ डि लाङ।