अन्तर्राष्ट्रिय माउन्टेन फिल्म महोत्सव (किम्फ)
हुम्लाका अभिनाष लामा दुई बुबा र एक आमाका सन्तान हुन्। सानो छँदा उनलाई यो रमाइलो लाग्थ्यो। परिवार ठूलो र माया धेरै पाएको अनुभूति हुन्थ्यो। जब उनी काठमाडौं आए, पढाइ गरे, अनि बहुपति चलन लाग्न थाल्यो कुचलन।
अभिनाषलाई दुई बुबा, एक आमा भएको कुराले खिन्न हुन थाल्यो। लामो समय होस्टल बसेकाले परिवारसँग टाढिएका उनलाई पछि उति घुलमिल पनि हुन मन भएन। आफ्नै घरमा बहुपति चलन देखे पनि अभिनाषसँग कुनै विकल्प थिएन।
यो कथा अभिनाष एक्लैको होइन।
हुम्लाको भारगाउँ, लिमाटाङ, गुरुङसे, बरौसे लगायत गाउँमा दुई दशकअघिसम्म बहुपति चलन साधारण मानिन्थ्यो। हुम्लामा मात्र नभई यो चलन डोल्पा, गोर्खा लगायत हिमाली जिल्लाहरूमा समेत प्रख्यात थियो।
हिमाली भेगका प्रायः अघिल्ला युवा पुस्ताका एउटी आमा र एकभन्दा बढी बुबा छन्। दुई–तीन दशकअघिको कुरा गर्ने हो भने कसैलाई यसबारे उति चासो पनि थिएन। पछि मान्छेमा जनचेतनासँगै यसको विरोध हुन थाल्यो। कानुनले पनि यसलाई बन्देज गरेको छ।
नेपाल कम्युनिस्ट पार्टीका सांसद छक्कबहादुर लामा हुम्लाका हुन्। उनी पनि बहुपति बिहेका भुक्तमान थिए। पछि मात्रै उनले आफ्नी श्रीमती (जसलाई उनी भाउजू भन्थे) छाडे र अन्तै फेरि बिहे गरे।
१७ औं किम्फको तेस्रो दिन राष्ट्रिय सभागृहमा वृत्तचित्र 'को–हज्ब्यान्ड' देखाइएको थियो। नेपाली भाषामा सहायक श्रीमान अर्थ दिने 'को-हज्ब्यान्ड' यही बहुपति प्रथासम्बन्धी सिनेमा हो। यसमा सांसद छक्कबहादुर लामा पनि आफ्नो कथासँगै देखिन्छन्।
'को-हज्ब्यान्ड' ट्रेलर
वृत्तचित्रमा तीन महिला र उनीहरूका श्रीमानहरूको कथा देखाइएको छ। कथाको 'सेटिङ' हुम्लाकै गाउँहरू छन्। नेपाली भाषा, स्थानीय बोलीमा रहेको उक्त वृत्तचित्रमा अंग्रेजी अनुवाद पनि छ।
गणेश पाण्डेको निर्देशनमा बनेको वृत्तचित्र अभिनाष लामा र उनको टोलीले छायांकन गरेका हुन्। नौ परिवारको कथा समेटिने गरी बनाएका भए पनि तीन परिवारको कथासँगै वृत्तचित्र ३९ मिनेटमा सकिन्छ।
केही दशकअघिको हिमाली भेगको वास्तविकता देखाउन खोजिएको 'को–हज्ब्यान्ड' अर्थात् 'सहायक श्रीमान' ले दर्शकलाई मोहित त पार्यो नै, साथै थुप्रै प्रश्न पनि उठायो।
'जहाँसम्म मलाई लाग्छ यसअघि यो विषयमा नेपाली व्यावसायिक फिल्म वा वृत्तचित्र बनेको थिएन,' गणेशले फिल्मको विषय भारी रहेको ठहराउँदै भने, 'बहुपति बिहेबारे मान्छेहरू बोल्न उति रूचाउँदैनन्। केही नयाँ देखेपछि दर्शकमा जिज्ञासा हुनु स्वाभाविक ठान्छु।'
गणेश फिल्म निर्माता र पत्रकार हुन्। समाजका चलनचल्तीमा चासो राख्ने गणेशका विषयवस्तु पनि त्यतै ढल्केका पाइन्छ। 'द लास्ट म्यासेज', 'द रिर्सरेक्सन', 'द ब्रेभ सिस्टर' लगायत आधा दर्जन बढी वृत्तचित्र उनले निर्देशन गरिसकेका छन्।
'किम्फ २०१५' मा गणेशद्वारा निर्देशित 'भाग्यले बाँचेकाहरू' उद्घाटन फिल्म थियो। २०७२ को भुइँचालोमा साँच्चै भाग्यले बाँचेकाहरूको कथा समेटिएको उक्त वृत्तचित्रले 'बेस्ट डकुमेन्ट्री अवार्ड' पाएको थियो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा 'भाग्यले बाँचेकाहरू' जगमगायो। ३२ भन्दा बढी देशमा देखाइएको उक्त वृत्तचित्रले १५ अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ।
हरेकपटक आफ्नो कथा र विषय नयाँ चाहने गणेशलाई 'किम्फ २०१५' पछि भार थपिएको थियो। यही भार उनले 'को–हज्ब्यान्ड'का रूपमा बिसाएका हुन्।
एक वर्षको अध्ययन र थप तीन वर्षको मेहनत हो 'को–हज्ब्यान्ड'। हिमाली भेगको जनजीवन बुझ्न गणेशले अन्वेषक साथी योगेश पोखरेलसँग मिलेर अध्ययन गरेका थिए। उनी भन्छन्, 'एक वर्ष लामो अध्ययनले हिमाली जीवनबारे धेरै बुझायो। त्यसैले वृत्तचित्र बनाउन सफल भएँ।'
नेपाली समाजकै घटना विश्व दर्शकसामु पस्कने इच्छाले उक्त विषय चुनेको गणेशले बताए। उनका अनुसार अझै पनि बहुपति चलनका भुक्तमान जनसंख्या दस हजार (परिवारका सदस्य सबै गनेर) छन्।
वृत्तचित्रमा श्रीमती र उनका श्रीमानहरूको धारणा प्रस्तुत गरिएको छ। कुनै बेला खेतीपाती गर्न, गाईवस्तु चराउन र घरका काममा हात अघि सार्ने दाजुभाइ नै हुन्थे। यी कुरा व्यवस्थापन गर्न घरमा महिला सदस्यको खाँचो महशुस हुन्थ्यो। जेठा छोराले केटी माग्न जाने र उनले बिहे गरेकी महिला सबै भाइका पनि श्रीमती हुन्थिन्।
दाजुभाइ सबैकी एउटी श्रीमती हुँदा एक महिलाका दुईभन्दा बढी श्रीमान हुन्थे, पाँच-सातजना सम्म पनि। व्यवहारमा श्रीमती भए पनि भाइहरूले बोलाउँदा भाउजू नै भन्छन्। यस्तो परिवारमा जन्मेकाहरूले सानो बुबा, माइलो बुबा, जेठो बुबा भन्दै 'बुबाहरू'लाई सम्बोधन गर्ने चलन छ।
घरको जेठोबाठो भएकाले कुनै पनि स्थितिमा जेठा छोराले भने श्रीमती छाड्न हुन्थेन। भाइहरूले भने फेरि बिहे गरेको पनि पाइन्छ। बहुपति चलन प्रायः शेर्पा वा लामाहरूमा हुन्थ्यो।
देशमा बहुविवाह घटेसँगै हिमाली भेगको बहुपति चलन पनि हराउँदैछ। 'हुम्लामा पछिल्लो समय बहुपति चलन चलाएको परिवार पूर्ण लामाको छ,' निर्माता गणेशले भने, 'अहिले बिरलै पाइन्छ बहुपति चलन।'
वृत्तचित्रमा देखाइएका श्रीमतीको बहुपति चलनमा कुनै नकारात्मक दृष्टिकोण देखिँदैन। बरू कुनै समय आफ्ना श्रीामान मानेर सँगै बसेका घरका भाइहरू 'अन्त लागेको' देख्दा गुनासो पोख्छिन्। बाहिरी हिसाबमा राम्रो व्यवहार देखाए पनि भित्री मनबाट छाडेर जानेलाई असल नमान्ने कुरा वृत्तचित्रमा देखाइएको छ।
'को–हज्ब्यान्ड' लाई परोपकारी हिसाबमा पनि दर्शकमाझ देखाउने निर्माण टोलीको सोच छ। तीन मात्र नभई थप परिवारको कथा पनि देखाउने उनीहरूको योजना छ।
यी पनि पढ्नुस्ः
'खान्डोले फेरि बिहे गर्नुपर्यो'
पुरुषलाई पब-जी, नारीलाई सारी!
किम्फको पहिलो दिन 'एडमन्ड हिलारी' र 'हेभी मेटल'का फिल्म
'किम्फबाट युवा पुस्ताले परिचय बनाउने ठाउँ पाएका छन्'