एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म 'हर्ष' को निर्माण टिम यतिबेला प्रचारप्रसारका लागि देश दौडाहामा छ।
यसै क्रममा शुक्रबार फिल्मको टोलीले पूर्वी नेपालको झापास्थित विभिन्न शैक्षिक संस्थाहरूमा पुगेर विद्यार्थीहरूसँग अन्तरक्रिया गर्यो। बिर्तामोडमा केन्द्रित प्रचार अभियानमा निर्देशक पौडेलसहित मुख्य अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत सहभागी रहे। उनीहरूले बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल र चिल्ड्रेन स्कुलमा पुगेर फिल्मको कथावस्तुबारे जानकारी दिँदै हलसम्म आएर हेर्न आग्रह गरेका थिए।
यही मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म पारिवारिक कथामा बनेको छ। नव-निर्देशक एकता पौडेल स्वर्गीय चर्चित निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्युयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी उनले आमसञ्चारमा स्नातक तथा व्यवस्थापन र नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन्। उनले यसअघि केही छोटा चलचित्रहरू समेत निर्माण गरिसकेकी छिन्।
आफूसँग विभिन्न विधाका ५–७ वटा कथा भए पनि 'पारिवारिक ड्रामा' आफ्नो मनपर्ने विधा भएकाले पहिलो फिल्म यसैबाट सुरू गरेको निर्देशक पौडेलले बताइन्।
अष्टलक्ष्मी प्रोडक्सन्स र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा निर्देशक पौडेल स्वयंको हो।
फिल्ममा खगेन्द्र र वर्षाका साथै बालकलाकार साइमन, नीर शाह, सन्तोष पन्त, शर्मीला मल्ल, माओत्से गुरूङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय छ।

